शरदसँगको सम्बन्धबारे निशाले भनिन्- हामी ठिक छौँ, आपसमा माया र सम्मान छ – Nepal Press

शरदसँगको सम्बन्धबारे निशाले भनिन्- हामी ठिक छौँ, आपसमा माया र सम्मान छ

काठमाडौं । अभिनेत्री निशा अधिकारीले श्रीमान् शरद भेषावकर विरुद्ध हालेको अंश मुद्दाको खबरबीच आफूहरू ठिकठाक रहेको बताउँदै आफ्नो सामाजिक सञ्जालमा लामो स्टाटस पोस्ट गरेकी छिन्। उनले होली मनाएको आफ्नो एक तस्बिरसहित उक्त स्टाटस पोस्ट गरेकी हुन् ।

निशाले यो आफूहरूको निजी मामला भएको बताएकी छन् । अंश मुद्दा हाल्नुको कारणबारे केही खुलाएकी छैनन् । यो विषयलाई परिपक्वता र करुणाका साथ सुल्झाउने उनको भनाइ छ । स्टाटसमा उनले लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै व्याख्या गर्न जाँदै छु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।’

उनले स्टाट्समा समाज कस्तो हुनुपर्छ र कस्तो हुनुहुँदैन भन्नेबारे पनि आफ्ना केही टिप्पणीहरू दिएकी छन्। समाजमा आफ्नो अधिकारबारे सचेत रहने, हृदय अनि दिमाग प्रयोग गरेर आएका समस्याहरू समाधान गर्ने र जिन्दगीमा आउने जस्तोसुकै परिस्थितिमा पनि हाँसीहाँसी अघि बढ्न सक्ने व्यक्ति हुन जरुरी भएको उनको भनाइ छ।

त्यसै गरी, कोही व्यक्तिले हार खाएको हेर्न रुचाउने, आफ्नो गल्तीबिना माफी मगाउने र देखावटी माया गरेजस्तो गर्ने समाज सृजना हुन नहुने पनि उनले बताएकी छन्। आफ्ना सम्पूर्ण धारणाहरूसहित अन्तिममा उनले आफू, श्रीमान् शरद र छोरा युभान ठिक भएको जनाएकी छन्।

उनले अंग्रेजीमा लेखेको स्टाटसको भावानुवाद:

म न त लुकाउने छु न त धेरै व्याख्या गर्नेछु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ। हामीले एउटा यस्तो समाज सिर्जना गर्न आवश्यक छ, जहाँ यस्ता मानिसहरू हुनुपर्छ,

  • आफ्नो अधिकारबारे सचेत
  • जो सहानुभूति खोज्दैनन् तर आफ्नो हृदय र दिमाग प्रयोग गरेर चिजहरू समाधान गर्नलाई प्राथमिकता दिन्छन्
  • जो जिन्दगीमा जस्तोसुकै परिस्थिति आउँदा पनि मुस्कुराएर अगाडी बढ्न सक्छन्। अ नियोजित जीवन परिस्थितिहरूको साथ र विरुद्ध अगाडि बढ्न सामर्थ्य राख्छन्। साथसाथै हामीले यस्तो समाज निर्माण गर्नु जरुरी छ जसले यो आशा राख्दैनस्
  • व्यक्तिहरू बिग्रिएको हेर्ने
  •  जिम्मेवार नै नभएका चीजहरूमा माफी माग्नुपर्ने
  • सहानुभूति र माया देखाए जस्तो गर्ने

हामी सबैले नक्कल गर्न नसकिने विभिन्न व्यक्तिका अनुभवहरूप्रति हामी कत्तिको दयालु र स्वीकार्य छौँ भनेर सोच्न र पुनस् सोच्न आवश्यक छ। त्यो हाम्रो विशिष्टता हो। त्यो स्वीकृतिले हामीलाई मानिसको रूपमा परिभाषित गर्दछ र सामूहिक रूपमा हामीलाई मायालु समाज निर्माण गर्न नेतृत्व गर्दछ।

म, शरद र युवान ठिक छौ र सम्पूर्णमा अथाह माया, सम्मान र करुणा प्रकट गर्न चाहन्छौ। आशा छ कि तपाईँको होली सुखद बित्यो।

निशाका पति शरद भेषावकर क्रिकेटर हुन्। शरदले पछिल्लो समय राष्ट्रिय टीमबाट स्थान गुमाएका छन् ।

निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन्। निशा र शरदको एक छोरा पनि छन्। एकल सन्तानका रूपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । विवाह गरेको पाँच वर्षमै यी दुईको सम्बन्धमा दरार आएको हो।

निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन् । सम्बन्ध विच्छेद नगरीकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *