राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरेका छौं, कसलाई समर्थन गर्ने पार्टीले निर्णय गर्छ : अध्यक्ष लिङ्देन – Nepal Press

राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरेका छौं, कसलाई समर्थन गर्ने पार्टीले निर्णय गर्छ : अध्यक्ष लिङ्देन

दुर्गा प्रसाईंप्रति कटाक्ष- राप्रपा कुनैपनि अराजक गतिविधिको पक्षमा छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गर्ने बताएका छन् ।

सोमबार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुगेका नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपाले यस्तो बताएको हो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले एमालेलाई पनि सोही कुराको अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको यसबारेमा निर्णय गर्ने स्पष्ट पारे । उनले राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेको उल्लेख गरे ।

‘आज खासगरी नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा भोट माग्न आउनुभएको थियो । हाम्रो पार्टीको सहयोग रहोस् भनेर आग्रह गर्नुभयो’, उनले भने, ‘हामीले २४ गते केन्द्रिय कार्यसमितिको बैठक बोलाएका छौँ, त्यसपछि निर्णय गर्नेकुरा राखेका छौँ । यही कुरा नेकपा एमालेलाई पनि भनेको छौँ । शुभकामना दियौँ । स्वागत गरेका छौँ । हामीले सिधा भन्ने अवस्थामा पुगेका छैनौँ । हाम्रो पार्टीले राष्ट्रपतिको निर्वाचनलाई शतर्कता पूर्वक हेरिरहेको छ । हाम्रो पार्टीको गणित, दुई पक्षिय उम्मेदवारी र आम जनधारणा, हाम्रो शुभेच्छुकहरुको धारणालाई शतर्कताका साथ हेरिरहेका छौँ । हामी यसैलाई मत दिन्छौँ भनिहाल्ने अवस्थामा पुगेका छैनौँ ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तिब्र बनाइरहेका छन् ।

त्यस्तै, लिङ्देनले राप्रपा कुनै पनि अराजक गतिविधिको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले दुर्गा प्रसाईंकाे गतिविधिप्रति लक्षित गर्दै यस्ताे बताए ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारे ।

उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधा भन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।

उनले यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरु भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रुपमा रहेका राजनीतिक दलहरु बढी जिम्मेवार हुन आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर