द्वन्द्वकालीन मुद्दाका सरोकारवाला देउवा र प्रचण्ड हुन्, मैले पटकपटक संक्रमणकालीन न्याय टुंग्याउँन खोज्दा मानेनन् : ओली (भिडिओ) – Nepal Press

द्वन्द्वकालीन मुद्दाका सरोकारवाला देउवा र प्रचण्ड हुन्, मैले पटकपटक संक्रमणकालीन न्याय टुंग्याउँन खोज्दा मानेनन् : ओली (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष शर्मा ओलीले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई छान्दा राजनीतिक परिवर्तनको एउटा महत्वपूर्ण बिन्दुको सुरुवात हुने बताएका छन् । एमाले मुख्यालयमा राष्ट्रपतिको निर्वाचनको लागि नेकपा (एमाले) का प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिँदै यस्तो बताए ।

‘राष्ट्रपति भनेको अत्यन्तै वजनदार, निष्पक्ष, महत्वपूर्ण अभिभावकीय भूमिका खेल्ने व्यक्ति हुनुपर्छ’, ओलीले भने, ‘एमालेले त्यस्तै व्यक्ति छानेर सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । उहाँलाई छान्दा राजनीतिक परिवर्तनको एउटा महत्वपूर्ण बिन्दुको सुरुवात हुनेछ । त्यो एमाले बलियो हुने कुरा होइन प्रजातन्त्र बलियो हुने कुरा हो । एमाले सुरक्षित हुने कुरा होइन । संविधानको रक्षा हुने कुरा हो । लोकतन्त्रको सुरक्षा गर्ने कुरा हो ।’

ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला नै संक्रमणकालिन न्यायको कुरा, शान्तिप्रक्रियालाई टुंगोमा लैजाने कुरालाई पटक-पटक आग्रह गरेको स्मरण गराए ।

‘तर, उहाँ (प्रचण्ड)ले विभिन्न बाहनामा मान्नु भएन । म दोस्रो पटक प्रधानमन्त्री हुँदा र उहाँ र म एउटै पार्टीमा रहेका बेला पनि करीब ३ वर्षसम्म यो विषयलाई टुंगोमा लैजाउँ, अलमल्याउनु हुँदैन त्यो लम्बियो भने त्यसले पछि जटिल समस्या सिर्जना गर्छ भन्दा मेरो कुरामा ध्यान दिनुभएन,’ ओलीले भने, ‘मैले शेरबहादुर देउवा र प्रचण्ड दुवैलाई तपाईँहरु सरोकारवाला पक्ष म तटस्थ छु । तपाईँहरुले जे-जे भन्नुहुन्छ म दायाँबायाँ औँठा छाप होइन पञ्जा र खुट्टाले पनि सही गराउन तयार छु भन्दा मान्नु भएन ।’

ऐन बनाउने बेलामा ऐन बनाउन नदिने, काम गर्ने बेलामा काम गर्न नदिने, समिति र आयोग बनाउने बेलामा बनाउन नदिने, वर्षौसम्म व्यवधान खडा गर्ने काम भएको पनि उहाँले गुनासो गरे ।

‘सत्य तथा मेलमिलाप निरुपण आयोगमा माओवादीकै नेताले व्यवधान खडा गरेर काममा अवरोध भयो । हामी अहिले पनि चाहन्छौँ । यो शान्ति प्रक्रिया हामीले अघि बढाएको हो । टुङ्याउनुपर्छ’, ओलीले भने, ‘यसलाई अनवरत राख्ने र पीडित सधैँ पीडित भै राख्ने, पीडितले न्याय नपाउने कुराको अन्त्य हुनुपर्छ भनेर अस्ति भर्खरको सरकारलाई पनि भनेको हो । तर, प्रचण्डको त्यतातिर ध्यान भएन । भित्रभित्र बेइमानी गर्ने, धोका लिने जस्ता कुरामा मात्रै अघि बढ्नुभयो ।’

उनले नेकपा (एमाले)लाई पेलेर अघि बढ्छौँ भन्ने धेरै ठूलो भ्रममा नरहनु चेतावनी दिए । ‘सबै भन्दा ठूलो शक्तिलाई पेलेर जान्छौँ भन्दै उहाँहरुले गलत बाटो लिइरहनु भएको छ’, उनले भने ।

प्रतिक्रिया

One thought on “द्वन्द्वकालीन मुद्दाका सरोकारवाला देउवा र प्रचण्ड हुन्, मैले पटकपटक संक्रमणकालीन न्याय टुंग्याउँन खोज्दा मानेनन् : ओली (भिडिओ)

  1. यी दुवैलाई हेग पुर्याउन पाए देश सुध्रिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर