सार्कीको ब्याटिङ र ऐरीको बलिङमा यूएईमाथि नेपालको शानदार जित – Nepal Press

सार्कीको ब्याटिङ र ऐरीको बलिङमा यूएईमाथि नेपालको शानदार जित

विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना जिवित

काठमाडौं । नेपालले घरेलु टिम यूएईविरुद्ध शानदार जित हासिल गर्दै विश्वकप लिग २ को टप ३ मा पुग्न सक्ने सम्भावना जिवित राखेको छ । आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई ४२ रनले पाखा लगाएको हो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन ब्याटिङमा भीम सार्की र बलिङमा दिपेन्द्र सिंह ऐरीले मुख्य भूमिका निभाए । टप अर्डर धराशयी भएको अवस्थामा भीमले तल्लो क्रमका ब्याट्सम्यानहरुसँग मिलेर नेपालको उद्दार गरेका थिए । यसैगरि, दोस्रो इनिङमा दिपेन्द्रले लगातार बलमा लिएको दुई विकेटले खेल नेपालको पकडमा गएको थियो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पनि नेपालले आज पहिलो ब्याटिङ रोज्यो । नेपालको निर्णय यस अर्थमा ‘बोल्ड’ थियो कि टस जित्दा पहिले बलिङ रोज्ने टिमलाई बानी नै परेको छ । साथै, यूएईमा नेपालको ब्याटिङ राम्ररी चलिरहेको पनि छैन ।

नेपालले आज कुशल भुर्तेलको अनुपस्थितिमा ज्ञानेन्द्र मल्ललाई आसिफ सेखसँग ओपनिङमा पठाएको थियो । तर, उनीहरुको जोडी धेरै टिक्न सकेन । आसिफ १४ बलमा ६ रन बनाएर आउट भए । त्यसपछि कुशल मल्ललाई तेस्रो नम्बरमा प्रमोसन गरेर पठाइयो । दुई मल्लबीच २० रनको साझेदारी भयो । तर, ज्ञानेन्द्र पनि ११ रन बनाएर आउट भए । त्यसपछि नेपालका कप्तान रोहित पौडेल पनि केवल एक रन बनाएर पेभिलियन फर्किएपछि नेपाल संकटमा पर्यो ।

कुशलले नेपाललाई केही राहत दिए । उनले फेरि एकपटक आक्रामक अन्दाजमा खेल्दै ३२ बलमा ३२ रन नै बनाएर नेपालको स्कोर उकास्ने प्रयास गरेका थिए । उनी आउट भएपछि नेपालको आशा दिपेन्द्र सिंह ऐरीमा थियो । तर, आज पनि ऐरीको ब्याट चलेन । उनी ११ बलमा ४ रन बनाउँदै आउट भए ।

नेपालले ६८ रनमै पाँच महत्वपूर्ण विकेट गुमाएपछि डेढ सय रन कटाउन पनि गाह्रो पर्ने देखिएको थियो । सातौं नम्बरमा सन्दीप लामिछाने ब्याटिङमा आए । अघिल्लो म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै अविजित ३५ रन बनाएका सन्दीपलाई प्रशिक्षकले प्रमोसन गरेर पठाएका थिए । सन्दीपले आज पनि निराश बनाएनन् । उनले भीम सार्कीसँग ५६ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल खेलमा फर्कियाे।

सन्दीप आउट भएपछि भीमले आरिफ शेखसँग अर्को राम्रो साझेदारी गरे । भीन ९९ बलमा ७० रन बनाउँदै आउट भए । उनको इनिङमा ७ चौका सामेल थिए । आसिफ शेखले ५६ बलमा ४३ रन बनाएर अविजित रहे । इनिङको अन्तिम बलमा उनले छक्का प्रहार गरेका थिए । यस्तै करण केसीले ११ बलमा १७ र प्रतिस जिसीले ६ बलमा ११ रन बनाएर नेपाललाई बलियो योगफलमा पुर्याउन मद्दत गरेका थिए ।

यूएईको पीचमा २३० रनको लक्ष्य ठूलो हो । यूएईले दोस्रो बलमा नै कप्तान मुहम्मद वसिमलाई गुमायो । उनको विकेट सोमपाल कामीले लिए । तर, त्यसपछि यूएईका ब्याट्सम्यानहरुले नेपाली बलरहरुलाई संघर्ष गर्न वाध्य बनाए। ओपनर आसिफ खान र आर्यन लाक्राबीच दोस्रो विकेटका लागि ९४ रनको साझेदारी भयो । उनीहरुको साझेदारी ऐरीले तोडेका थिए । आर्यन लाक्रा ५० रनमा आउट भएपछि पनि आसिफ खानले भने उत्कृष्ट ब्याटिङ गर्दै यूएईलाई खेलमा राखिरहे । १४६ रनमा तीन विकेट गुमाउँदासम्म खेलमा यूएईको पल्ला भारी त्यसपछि भने यूएईले लगातार विकेट गुमाइयो ।

४१.१२ ओभरमा दिपेन्द्रले आसिफलाई ८२ रनमा आउट गरेपछि भने खेल निर्णायकरुपमा नेपालको पक्षमा मोडियो । लगत्तै बलमा उनले कात्र्तिक मियाप्पनलाई आउट गरे । यूएईको अन्तिम विकेट सन्दीप लामिछानेले लिए । उनले आफ्नो अन्तिम बलमा युएईको अन्तिम ब्याट्सम्यानलाई आउट गर्दै आज विकेटविहीन रहनबाट जोगिए ।

एकसमय यूएईलाई जितका लागि ५७ बलमा ५४ रन चाहिएको अवस्थामा यूएईका लागि संयमित इनिङ खेलेका ओपनर आसिफ खान र कार्तीक मियाप्पनलाई लाई आउट गर्दै दीपेन्द्रले लगातार विकेट लिएपछि नेपाल जिततर्फ बढेको थियो । नेपालका लागि सोमपाल कामीले पनि महत्वपूर्ण तीन विकेट लिएका थिए । करण केसी, सन्दीप लामिछाने र आरिफ शेखको खातामा एक–एक विकेट गयो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर