विकास निर्माणको विजोग: ५ वर्षमा २५ प्रतिशतमात्रै काम – Nepal Press

विकास निर्माणको विजोग: ५ वर्षमा २५ प्रतिशतमात्रै काम

पोखरा । केही वर्षअघि पोखरा-बागलुङ राजमार्गको केही खण्ड ६ लेन फराकिलो भयो । त्यसपछि पोखराभित्रको एउटा खण्ड जिरो किमिदेखि हरिचोकसम्म बजार पनि विस्तार भयो । यो सडकमा गाडी र मोटरसाइकल पनि निस्फिक्री गतिमा गुड्न थाले ।

यो सडकको दुर्भाग्य के भने बागलुङ बसपार्क नजिकै फिर्केखोलामा एउटा पुल छ, जुन २ लेनको मात्रै छ । फराकिलो सडकमा बेपत्ता हुइँकिँदै आएका गाडीहरु जब पुल नजिक पुग्छन्, कतिपयले नियन्त्रण गुमाउँछन् । त्यसरी नियन्त्रण गुमाएर कति पुलमा ठोक्किन्छन्, कति तलै खस्छन् । यसरी दुर्घटनामा परेर अहिलेसम्म एक दर्जनले ज्यान गुमाइसकेका छन् ।

फराकिलो सडकमा पुल पनि फराकिलै बनाउन सरकारले योजनामात्रै बनाएको छैन, बजेट विनियोजन गरी ठेक्का पनि लगाएको छ । तर, निर्माण कम्पनीको ढिलासुस्तीले पुल बन्न सकेको छैन । अत्यधिक दुर्घटना भएपछि आजित भएर स्वयंसेवीहरुले एउटा सूचना नै टाँसेका छन्- यो पुल कहिले बन्छ ? त्यस्तै अर्काे सूचना छ- पुल साँघुरो छ, विस्तारै जानुहोस् ।

पुल बनाउन साढे ५ वर्षअघि नै सम्झौता भएको थियो । २०७७ चैत ३० गतेसम्म पुल निर्माण सक्ने गरी ठेक्का पाएको लक्ष्य शान्ति आरोग्य जेभी सानेपा ललितपुरले साढे ५ वर्ष बितिसक्दा पनि पुल निर्माण सकेको छैन । अहिलेसम्म २५ प्रतिशतमात्रै काम भएको छ । यही गतिमा पुल निर्माण सक्न अर्को १५ वर्ष लाग्ने देखिन्छ ।

निर्माण कम्पनीले काम नगर्दा पुल निर्माणमा ढिला भएको सडक डिभिजन कार्यालय कास्कीका सूचना अधिकारी इञ्जिनियर उज्ज्वल शर्माले बताए । ‘२०७५ सालमै निर्माणको जिम्मा दिएका हौं, निर्माण कम्पनीले सुरुको केही समय कोरोना भाइरस र मुआब्जाको कारण देखाउँदै काम रोक्यो’, इञ्जिनियर शर्माले भने, ‘सुरुका केही समय जग्गा प्राप्तिका लागि मुआब्जा दिने काम भयो, मुआब्जा वितरण गरियो । तर, ठेकेदारले काम नगर्दा पुल निर्माण हुन सकेन ।’

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठले फागुन ५ गतेमात्रै पुलको स्थलगत निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिलाई म्यादभित्र पुल सम्पन्न गर्न निर्देशन दिएका थिए ।

‘तपाईंले भनेको कुरा रेकर्ड छ । तपाईंले हुन्छ, छिट्टै सक्छु भन्नुभएको छ, समयभित्रै सक्नुहोला’, मन्त्री श्रेष्ठले निर्माण व्यवसायीका प्रतिनिधि सुमन पौडेललाई सचेत गराउँदै भनेका थिए ।

‘कम्पनीलाई बारम्बार पत्राचार गर्‍यौं, ताकेता गर्‍यौं । तर, पनि काम हुन सकेन, ५ वर्ष बितिसक्दा पनि २५ प्रतिशतमात्र काम भएको छ’, इञ्जिनियर शर्माले भने । पुल निर्माण गर्न ठेकेदार कम्पनीले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा जिम्मा लिएको थियो ।

निर्माण सक्न चालू आर्थिक वर्षको असार मसान्तसम्म म्याद थप गरिएको उनले बताए । ‘अन्तिमपटक निर्माण कम्पनीका सञ्चालक आएर गर्छाैं भनेर भनिसकेपछि चालू आर्थिक वर्षको असार मसान्तसम्मको म्याद दिएका छौं’, उनले भने ।

कम्पनीलाई निरन्तर पत्राचार र ताकेता गरिरहेकाले केही समयमा काम नहुने देखिए ठेक्का रद्दको प्रक्रियामा जाने सडक डिभिजन कार्यालय कास्कीका इञ्जिनियर सहनशीला कायस्थले बताइन् । ‘१-२ महिना हेर्छाैं, गर्ने देखियो भने केही समय म्याद थप गरेर नि जान्छाैं’, उनले भनिन्, ‘गरेन र नहुने जस्तो देखियो भने ठेक्का रद्द गर्ने प्रक्रियामा जान्छौं ।’

शान्ति आरोग्य जेभीका प्रतिनिधि सुमन पौडेलले भने मुआब्जाका कारणले पुल निर्माण ढिला भएको बताए । पुलका लागि देश बाहिरबाट सामान ल्याउँदा समय लागेको उनको भनाइ छ ।

‘जुन डिजाइनमा पुल बनाउँदैछौं, त्यो नेपालकै पहिलो हो, हामीले पनि अध्ययन गर्नुपर्छ, बाहिरबाट सामानहरु ल्याउँदा समय लागेको हो, सामान आइसकेको छ, अब निरन्तर काम हुन्छ’, पौडेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *