स्ववियु चुनाव बिथोल्ने गतिविधि नगर्ने मोरङका विद्यार्थी संगठनको प्रतिबद्धता – Nepal Press

स्ववियु चुनाव बिथोल्ने गतिविधि नगर्ने मोरङका विद्यार्थी संगठनको प्रतिबद्धता

स्ववियु चुनाव नहुँदा विद्यार्थीका समस्याका चाङ बढेको गुनासो

विराटनगर । कोशी प्रदेशकै केन्द्रीय क्याम्पस विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा ७ हजार हाराहारी विद्यार्थी अध्ययनरत छन् ।

२०६५ सालदेखि यहाँ स्ववियु चुनाव हुन सकेको छैन । २०७३ सालमा अन्य क्याम्पसहरूमा निर्वाचन भए पनि तालाबन्दीका कारण महेन्द्र मोरङमा निर्वाचन हुन सकेन ।

विद्यार्थी संगठनका बीचमा विवादले स्ववियुले नेतृत्व पाउन सकेन । स्ववीयु नहुँदा विद्यार्थीका दर्जनौं समस्या समाधान गर्न पहल गरिए पनि समाधान हुन नसकेको विद्यार्थी संगठनका नेताले बताएका छन् ।

एमालेनिकट अनेरास्ववियु मोरङका सचिव नवीन पहाडी स्वावीयु नहुँदा विद्यार्थी संगठनहरूले उठाएका मुद्दा नीतिगत सम्बोधन हुन नसकेको बताउँछन् । उनका अनुसार क्याम्पसमा लाइब्रेरीको समस्या छ । किताबहरू पर्याप्त नहुँदा विद्यार्थीहरूले किताबहरू पाउन सकेका छैनन् । क्याम्पसले दिने छात्रवृत्तिको पैसा पढाई सकिन लाग्दा पनि विद्यार्थीहरूले पाउन सक्दैनन् । क्याम्पसमा अनुशासनहीनताको अवस्था बढ्दै गएको छ ।

नेविसंघ महेन्द्र मोरङका सभापति जसवन्त पौडेल कतिपय शिक्षकहरूले क्याम्पसमा हाजिरमात्रै गरेर फर्किने गरेको बताउँछन् । स्ववियु नहुँदा विद्यार्थीहरूको समस्या समाधान गर्न नसकिएको उनी पनि सुनाउँछन् ।

उनले इ लाइब्रेरी भनिएको भए पनि पुस्तकालयमा पर्याप्त किताबहरू नभएको बताए । पौडेल भन्छन्, ‘क्याम्पसमा स्ववियु नेतृत्व वडाको वडाध्यक्ष र पालिकाको मेयर र अध्यक्षजस्तै हो तर स्ववियु छैन ।

एकीकृत समाजवादी निकट अनेरास्ववीयूका निर्मल भण्डारी विद्यार्थीले राम्रोसँग पढ्न पाउने वातावरण बनाउन विद्यार्थी संगठनहरू एक भएर लाग्न नसकेको बताउँछन् । उनका अनुसार महेन्द्र मोरङमा छात्रवृत्ति वितरणलाई प्रभावकारी बनाउन सकिएको छैन ।

निर्वाचन बिथोल्ने गतिविधि गर्दैनौं

मोरङका विद्यार्थी संगठनले निर्वाचन बिथोल्ने गतिविधिमा आफूहरू नलाग्ने प्रतिबद्धता जनाएका छन् ।

संवाद समूहले आयोजना गरेको संवादमा सहभागी विद्यार्थी संगठनका नेताहरूले निर्वाचनलाई कुनै पनि हालतमा सफल बनाउने भन्दै समस्या समस्या आए संवादबाट समाधान गर्ने बताएका छन् ।
अनेरास्ववीयु मोरङका अध्यक्ष तुलसी घिमिरेले शान्तिपूर्ण चुनाव र स्वच्छ परिणाममा विश्वास गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

अखिल क्रान्तिकारीका मोरङ इन्चार्ज टेकन क्षेत्रीले विद्यार्थी सङ्गठनहरू पार्टी नेतृत्व र सङ्गठनभन्दा माथि उठेर विद्यार्थीको हक हित र समस्या समाधानमा केन्द्रित रहने बताए ।

नेपाल विद्यार्थी सङ्घका पूर्व मोरङ सभापति देवचन्द्र घिमिरेले उम्मेदवार छनौट गर्दादेखि नै आचरण सुधार गर्दै, नैतिकवान् नेतृत्वको विकास गर्न कालागि विद्यार्थी सङ्गठनहरूबाट नै अभियान सुरु गर्ने बताए ।
जसपा निकट विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य महेश याद बले विद्यार्थीले राम्रोसँग पढ्न पाउने वातावरण बनाउन विद्यार्थी सङ्गठनहरू एक भएर लाग्ने र स्ववायुमा निर्वाचित भएका र नेतृत्वमा पुगेका नेताहरूले क्याम्पसको सुधार कालागि ध्यान दिने प्रतिबद्धता जनाए ।

संवादमा सहभागी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नरेन्द्र घिमिरेले विद्यार्थी सङ्गठनहरूबाट आन्दोलनको नाममा हुने तालाबन्दी र तोडफोडलाई अन्त्य गर्दै शैक्षिक र प्राज्ञिक रूपमा सुधारको अभियान चलाउने प्रतिबद्धता जनाए ।

पछिल्लो समय स्ववियु निर्वाचनसमेत भड्किलो हुन थालेकाले यसलाई नियन्त्रण गर्ने विद्यार्थी सङ्गठनले प्रतिबद्धता जनाएका छन् ।

संवादमा विद्यार्थी नेताहरू पंकजकुमार यादव, राकेशकुमार यादव, अभिमन्यु यादव, विष्णु बजगाईँ, वीरेन्द्र घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर