नेपाललाई यूएईको भय : ब्याट्सम्यानले भेट्टाउलान् लय ? – Nepal Press

नेपाललाई यूएईको भय : ब्याट्सम्यानले भेट्टाउलान् लय ?

काठमाडौं । यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले भोलि आफ्नो अन्तिम खेल घरेलु टीमविरुद्ध खेल्दैछ । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनका लागि लिग २ का अब बाँकी ५ वटै खेल जित्नुपर्ने हुँदा नेपालका लागि हरेक म्याच फाइनल सरह छन् ।

त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्यूगिनीविरुद्ध २ जित दर्ता गरेको छ भने यूएईविरुद्धको म्याचमा पराजय व्यहोरेको थियो । भोलिको म्याचमा नेपालले जित्नै पर्ने दवाव छ, यदि ग्लोबल क्वालिफायरको रेसबाट बाहिर ननिस्कने हो भने । तर, यूएई नेपालका लागि परम्परागतरुमा नै कठीन प्रतिद्वन्द्वी हो । जसरी नेपालको फुटबललाई भारतको हाउगुजी छ, त्यस्तै छ क्रिकेटमा यूएईको हाउगुजी ।

यही श्रृंखलाको कुरा गर्दा पनि नेपालले दुईपटक पीएनजीलाई हरायो, तर त्यही पीएनजीले हराएको यूएईसँग भने पराजित भयो । यद्यपि, शुक्रबारको खेलमा हासिल गरेको कठिन जितले नेपाल उच्च मनोबलमा छ भने आज पीएनजीसँग व्यहोरेको लज्जास्पद हारले यूएईको मनोबल खस्केको छ ।

यो श्रृंखलामा नेपालको चिन्ता भनेको ब्याटिङ हो । यूएईको स्लो पीचमा नेपाली ब्याट्सम्यानहरुले निकै संघर्ष गर्नुपरेको छ । त्यसो त तीनवटै टिमका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकिरहेका छैनन् । घरेलु टिम यूएई नै आज ९८ रनमा अलआउट हुनुले पनि पीचको अवस्था बुझ्न सकिन्छ ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सबै ब्याट्सम्यानहरु आलोपालो चम्किँदै जितमा योगदान दिए । नेपालले तीनपटक २५० भन्दा माथिको ठूला स्कोर पछ्याएको थियो । लिग २ को शीर्षस्थानमा रहेको स्कटल्यान्डलाई नेपालले दुईपटक पराजयको स्वाद चखाएको थियो ।

तर, यूएईको वस्तुस्थिति फरक छ । त्रिविको मैदानमा जस्तो त्यहाँ ब्याट्सम्यानहरुलाई सजिलो छैन । उनीहरुलाई क्रिजमा टिक्न निकै धैर्यता र प्राविधिक कौशलको आवश्यकता पर्छ । अहिलेसम्मका खेलमा ओपनर आसिफ शेख र मध्यक्रमका कुशल मल्लबाहेक कसैले पनि एकरुपको प्रदर्शन गर्न सकेका छैनन् । भरोसा गरिएका मध्यक्रमका ब्याट्सम्यानहरु तासको पत्ता झैं ढलिरहेका छन् ।

नेपालका दुई ओपनरमध्ये आसिफ शेखले अस्ति पीएनजीविरुद्ध जीवनकै उत्कृष्ट इनिङ खेले । उनले पहिलो खेलमा पनि पीएनजीविरुद्ध अर्धशतकको नजिक पुगेर रनआउट भएका थिए । अर्का ओपनर कुशल भुर्तेल पहिलो खेलमा अर्धसतक बनाए भने बाँकी दुई खेलमा फेल भए । भोलिको खेलमा उनी चोटका कारण अनुपस्थित रहनेछन् ।

नेपालका सबैभन्दा अनुभवि ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी निराश बनाएका छन् । अघिल्ला तीनवटै म्यानमा उनले दोहोरो अंकको स्कोर छुन सकेनन् । उनले तीनवटा खेलमा जम्मा १० रन मात्रै बनाएका छन् । भोलि सम्भवत उनी आसिफ शेखसँगै ओपनिङमा आउनेछन् ।

त्यसमा पनि सफल भएनन् भने टिममा उनको स्थान संकटमा पर्न सक्छ । नेपालको मध्यक्रमका दुई खम्बा कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी पनि चल्न सकिरहेका छैनन् । पीएनजीविरुद्धको पहिलो म्याचमा उनीहरु दुवैले स्टार्ट लिए पनि क्रिजमा टिक्न सकेनन् ।

भोलिको म्याचमा सबैभन्दा आशा राखिएका ब्याट्सम्यान हुन् कुशल मल्ल्ल । करिअरकै उत्कृष्ट फर्ममा रहेका कुशलले कुनै पनि क्षण विपक्षीबाट म्याच खोस्न सक्ने क्षमता राख्छन् ।

उनले यूएईविरुद्ध गरेको ब्याटिङ आफैंमा सनसनीपूर्ण थियो । यद्यपि, उनले धैर्यता गुमाउँदा नेपाललाई जिसम्म डोहोर्याउन भने सकेनन् । भोलिको म्याचमा प्रशिक्षकले उनलाई कुन स्थानमा उतार्छन् भन्ने पनि कौतुहलको विषय हो ।

मुख्य ब्याट्सम्यानहरु चल्न नसकिरहेका बेला नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ब्याटबाट सरप्राइज दिएका छन् । युएईविरुद्धको म्याचमा उनले एघारौं नम्बरमा आएर नटआउट २६ रन बनाएका थिए । त्यो म्याचमा उनलाई अर्को इन्डबाट कसैले साथ नदिँदा नेपाल पराजित भयो । पीएनजीविरुद्धको दोस्रो म्याचमा भने सन्दीपले ओपनर आसिफ शेखसँग मिलेर नेपाललाई जितसम्म डोहोर्याए ।

बलिङमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपबाट अब ब्याटिङमा पनि आशा गर्न थालिएको छ । अप्ठेरो पिच र धारिला बलरहरुलाई उनले जुन तरिकाले सामना गरिरहेका छन्, त्यो आफंैंमा आश्चर्यजनक छ ।

अहिलेको टिममा नेपालको ब्याटिङ पंति निकै लामो छ । ११ नम्बरसम्म नै ब्याटिङ क्षमता भएको हुँदा नेपालले कुनै पनि स्थितिबाट खेलमा कमब्याक गर्न सक्छ । नेपालको सबैभन्दा बलियो पक्ष यही नै हो ।

नेपालको चिन्ताको विषय चाहीँ फास्ट बलिङ हो । फास्ट बलरहरुले किफायती बलिङ गरे पनि सुरुवाती झट्का दिन सकिरहेका छैनन् । त्यसैले विकेटका लागि सन्दीपकै प्रतिक्षा गर्नुपर्ने स्थिति छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर