ए डिभिजन लिगः जावलाखेलसँग पहिलो खेलमै हार्‍यो डिफेन्डिङ च्याम्पियन मछिन्द्र (भिडिओ) – Nepal Press

ए डिभिजन लिगः जावलाखेलसँग पहिलो खेलमै हार्‍यो डिफेन्डिङ च्याम्पियन मछिन्द्र (भिडिओ)

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३-१ गोलले पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेललाई जीत दिलाउन हिसुब थपलिया, एन्कोटो मासोएबी र कप्तान सिमन्त थापाले गोल गरे ।

खेलको २२औं मिनेटमा जावलाखेलका विशाल तामाङले बल ह्यान्ड गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो । सोही फ्रि किकमा मछिन्द्रका देवेन्द्र तामाङले उत्कृष्ट गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

जावलाखेलका एनकोटोले खेलको ३६औं मिनेटमा वान भर्सेज वानको स्थितिमा बक्सभित्रबाट हानेको प्रहार मछिन्द्रका डिफेन्डर रञ्जित धिमालले गोललाइनबाट क्लियर गर्दा जावलाखेल बराबरी गोल गर्न चुकेको थियो ।

एनकोटोको क्रसमा खेलको ४१औं मिनेटमा सब्सिट्युट खेलाडी समिराज थोकरले गरेको प्रहार क्रसबार माथिबाट बाहिरिँदा जावलाखेल पुनः अभागी सावित भयो ।

पहिलो हाफमा केही अवसर बनाए पनि गोल गर्न नसकेको जावलाखेलले दोस्रो हाफमा मछिन्द्रमाथि दबाब सृजना गरेको थियो ।

खेलको ५९औं मिनेटमा जावलाखेलका हिसुबले बराबरी गोल फर्काएका थिए । फोडे फोफानाले सेन्टर सर्कलबाट दिएको पासमा उत्कृष्ट रन बनाएका हिसुबले बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।

त्यसपछि मछिन्द्रमाथि निरन्तर आक्रमण गरेको जावलाखेलका एनकोटोले गोल गर्दै टीमलाई २-१ को अग्रता दिलाए । मछिन्द्रका दिवाकर चौधरीले गोलकिपर विशाल श्रेष्ठलाई दिएको ब्याकपास क्लियर गर्न खोज्दा विपक्षीको खुट्टामा परेको थियो । विशालको सोही गल्तीमा एनकोटोले उत्कृष्ट गोल गरे ।

कप्तान सिमन्तले ८१औं मिनेटमा गोल गर्दै जावलाखेलको जीत ३-१ ले सुनिश्चित गरे । हिसुब थपलियाको फ्रिकिकमा हेडरमार्फत सेमन्तले सुन्दर फिनिस गरेका थिए ।

जीतसँगै जावलाखेलले तीन अंक जोडेको छ । आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा सातदोबाटो युथ क्लबले न्यूरोड टीम (एनआरटी)लाई २-१ गोलले पराजित गरेको थियो ।

योसँगै लिगमा पहिलो चरणको खेल सकिएको छ । दोस्रो चरणको खेल मंगलबार सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर