‘मनोनयनका दिनसम्म दुजाङ शेर्पालाई मौका दिन्छौं, नत्र देशभर नेविसंघका समानान्तर उम्मेदवार हुन्छन्’ – Nepal Press

‘मनोनयनका दिनसम्म दुजाङ शेर्पालाई मौका दिन्छौं, नत्र देशभर नेविसंघका समानान्तर उम्मेदवार हुन्छन्’

नेविसंघका नेता योगेन्द्र रावल भन्छन्- सभापतिले नै संगठन बन्धक बनाए, विश्वविद्यालयमा सेटिङ गर्ने र आफ्नै नेताहरुलाई गुण्डा लगाएर कुटाए

काठमाडौं । गत बिहीबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघका नेताहरु नेविसंघबाटै कुटिए । नेविसंघ त्रिवि इकाइका पूर्वसभापति योगेन्द्र रावलले शिव रिमाल, हरि आचार्यलगायतका नेतामाथि नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाए ।

त्यसलगत्तै चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि त्रिविले आह्वान गरेका विद्यार्थी संगठन दर्ताका क्रममा कीर्तिपुरलगायत उपत्यका र बाहिरका समेत अधिकांश क्याम्पसमा नेविसंघकै नामबाट दुईवटा संगठन दर्ता भएका छन् ।

उम्मेदवारी मनोनयनको दिन नजिकिदै गर्दा पनि नेविसंघ सभापति शेर्पाले एकलौटी गर्ने र पेलेरै लैजाने नियत देखाएको भन्दै नेता रावलले मनोनयनको दिनसम्म पनि उनले मिलाएर नलगे देशभर संस्थापन पक्षविरुद्ध स्वतन्त्र उम्मेदवारी दिइने बताएका छन् ।

नेपाल प्रेससँगको भिडिओ कुराकानीमा नेता रावलले दुजाङ शेर्पाले विश्वविद्यालय बुझ्न नसकेको र उनका कारण संगठन अकर्मन्य बनेको आरोप लगाए । उनले देशभर समानान्तर संगठन दर्ता भएको र उम्मेदवारी दिनबाट कसैले नरोक्ने चेतावनी समेत दिए ।

उनको भनाइ जस्ताको तस्तै:

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा निर्वाचन नहुँदा विद्यार्थीको मुद्दा ओझेलमा परेको थियो । विद्यार्थी आन्दोलन नै कता-कता धर्मराइरहेको थियो । तर, विश्वविद्यालयले स्ववियु निर्वाचन घोषणा गरेपछि हार्दिकताका साथ हामीले स्वागत गर्‍यौं ।

विद्यार्थीले स्ववियु निर्वाचनलाई ऐतिहासिक पर्वको रुपमा लिन्छ । त्यसैले यस निर्वाचनमा हामी नेविसंघ नेपालको मूल शक्ति हो भनेर प्रमाणित गर्न चाहन्थ्यौं । लोकतन्त्रवादीहरुको भविष्य छ है भनेर दुनियाँलाई देखाउन चाहन्थ्यौं ।

तर, नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा अकर्मण्य र स्वेच्छाचारीको बाटोमा गए । अझै अहिले गठबन्धनमा जाने समाचार आइरहेका छन् । यसमा सिंगो नेविसंघले खेद प्रकट गरिरहेको छ । गठबन्धन गरेर जाने हो भने नेविसंघको औचित्य के त ? यसले लोकतन्त्रको आत्मा मर्छ । यसले संगठनको सार र अस्तित्व रहँदैन । त्यसैले यसको भण्डाफोर गर्न लागिपरेका छौं । नेतृत्वको ज्यादतीविरुद्ध आवाज उठाइरहेका छौं ।

नेविसंघ एक्लै लड्छ सक्षम छ, गठबन्धनबाट लड्नुहुँदैन भनेर टीयुमा दुइटा संगठन दर्ता भएको छ । त्यो दुइटा संगठन मिलाउन नसकेका दुजाङ शेर्पाले आठवटा संगठन मिलाएर लानुहुन्छ भन्ने कुरामा रत्तिभर विश्वास छैन । उहाँ आफू एकजना हुनुहुन्छ, केन्द्रीय कमिटी विस्तार गर्न सक्नुहुन्न । नेविसंघका कार्यकर्तालाई मिलाएर लान सक्नुहुन्न भने फरक विचार, आस्था, झण्डा भएका मान्छेलाई कसरी मिलाउन सक्नुहुन्छ ? यो कर्मकाण्डी नाटक हो । आठ दलीय गठबन्धन गरेर जाने कागजलाई टीयुको गेटमा च्यात्ने नेतृत्व टीयु समितिले गर्छ ।

हामी आज विश्वविद्यालय र क्याम्पसहरुमा कलम, मसाल अंकित झण्डा फहराइरहेको देख्न चाहन्थ्यौं । तर, आज एक साथीले अर्को साथीलाई सहजै भेट्न नसकिने स्थिति अध्यक्ष दुजाङ शेर्पाले निम्त्याउनुभएको छ । उहाँले विश्वविद्यालयको नेतृत्व लामो समयदेखि रिक्त राख्नुभएको छ । भएका समिति पनि विघटन गर्नुभएको छ । विश्वविद्यालयका पदाधिकारीको सेटिङमा आन्दोलनलाई तुहाउनुभएको छ । जुन कार्य घृणित छ । त्यसको हामीले भण्डाफोर गर्दै आएका छौं ।

शंकरदेव क्याम्पसको सानो कोठाबाट अध्यक्ष बन्नुभएको छ । विश्वविद्यालयमा त ४२ वटा विभाग छन् । त्यो ठूलो ठाउँ हो । त्यहाँ विभिन्न विचारहरुको विमर्श हुने ठाउँ हो । अनि त्यहाँ दुईवटा प्रतिनिधि पठाइदिनुहुन्छ । त्यहाँका विद्यार्थीसँग समन्वय गर्नुपर्ने ठाउँमा आपसमा प्रतिनिधि नै लड्छन् । उहाँलाई स्थानीय र संघीय चुनाव सकिएको तीन महिनाभित्र १२औं महाधिवेशन सक्ने म्याण्डेड दिइएको थियो । तर, उहाँले त क्याम्पसमा समेत अधिवेशन गर्न सक्नुभएन । कुनै पनि विवाद हल गर्न सक्नुभएन । स्ववियु निर्वाचनको मुखमा उहाँले पठाएको प्रतिनिधि आपसमा लड्छन् भने उहाँ संगठनप्रति चिन्तित देखिनुभएन । संगठनको गरिमा उहाँले बुझ्नुभएन र संगठनप्रति जुन माया देखिनुपर्थ्यो, त्यो नदेखिएपछि नेविसंघलाई माया गर्ने साथीहरु आक्रोशित हुनुभएको हो ।

उहाँले कर्मकाण्डी तरिकाले स्ववियु निर्वाचनमा संगठनलाई सहभागी गराउन खोज्नुभएको छ । हामी अन्तिम समयसम्म पनि विनम्रताका साथ अनुरोध गर्छौं, संगठनलाई मिलाएर लानुहोस् । संगठन कसैको पैतृक सम्पत्ति होइन । यो संगठन दुःख गर्ने इमानदार कार्यकर्ताको पसिनाबाट आर्जित साझा सम्पत्ति हो । यदि उहाँ पेलेरै जाने स्थितिबाट अगाडि आउनुभयो भने हामी समानान्तर हिसाबले स्वतन्त्र रुपमा लडेर भए पनि नेविसंघलाई जिताएरै छाड्छौं । संगठनमा दुःख गर्नुभएका साथीहरुलाई अन्याय हुन दिँदैनौं ।

उहाँ निर्वाचित अध्यक्ष होइन । टीका लगाएरै आउनुभएको हो । पार्टी सभापति शेरबहादुर देउवाले टीका लगाइदिएर अध्यक्ष हुनुभयो । तर, जसरी आए पनि नेविसंघको अध्यक्ष बनेपछि उहाँ पार्टी सभापतिको मात्रै अध्यक्ष होइन । सिंगो संगठनको अध्यक्ष हो । हामीले उहाँलाई अध्यक्ष मानेको हो । तर, उहाँको गतिविधि नमानेको हो ।

हामी टौदहमा जिम्मेवार ढंगले वार्ता गरिरहेका थियौं । तर, अध्यक्षले गुण्डाहरु पठाएर आक्रमण गर्न लगाउनुभयो । नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाल, त्रिविका पूर्वअध्यक्ष हरि आचार्य, पूर्वअध्यक्ष श्यामचन्द्र अधिकारीलगायत जिम्मेवार नेताहरुमाथि आक्रमण गर्न लगाउनु अध्यक्षको गैरजिम्मेवारीपन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर