मध्यपश्चिमका ११ क्याम्पसमा एमाले, माओवादी र नेकपा एसका विद्यार्थी संगठनको चुनावी तालमेल – Nepal Press

मध्यपश्चिमका ११ क्याम्पसमा एमाले, माओवादी र नेकपा एसका विद्यार्थी संगठनको चुनावी तालमेल

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनहरूबीच तालमेल गर्ने सहमति भएलगत्तै मध्यपश्चिम विश्वविद्यालयका ११ वटा क्याम्पसमा माओवादी र नेकपा एस निकट विद्यार्थी संगठनले एमालेनिकट अनेरास्ववियुसँग तालमेल गरेका छन् ।

नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले वामपन्थी विद्यार्थी संगठनहरुबीच मध्यपश्चिम विश्वविद्यालयका ११ वटा क्याम्पसमा गठबन्धन बनेको बताए । उनका अनुसार एमालेनिकट अनेरास्ववियुले ६ वटा क्याम्पसमा सभापति पाएको छ ।

त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ३ र नेकपा एसनिकट अनेरास्ववियूले २ क्याम्पसमा नेतृत्व पाएको छ । थप एक शिक्षा क्याम्पसहित ११ वटा क्याम्पसको निर्वाचनमा तालमेल भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।

सहमति अनुसार मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सुर्खेतसहित तीला कर्णाली कालिकोट, मुसिकोट बहुमुखी र जलजला बहुमुखी क्याम्पसको सभापति अखिल क्रान्तिकारीले पाएको छ । ती ठाउँमा सचिव र कोषाध्यक्ष अनेरास्ववियु र नेकपा एसनिकट अनेरास्ववियूले पाएका छ्न् ।

त्यस्तै एमालेनिकट अखिलले नारायण बहुमुखी क्याम्पस दैलेख, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी जाजरकोट, भेरी शिक्षा क्याम्पस गुमी जाजरकोट र त्रिवि अन्तर्गतको शिक्षा क्याम्पस सुर्खेतको सभापति पाएको छ ।

नेकपा एसनिकट अनेरास्ववियूले रारा क्याम्पस मुगु र विद्यापुर जनता वहुमुखी क्याम्पसको सभापति भएको छ ।

सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस क्रान्तिकारीले पाएका कारण त्रिवि अन्तर्गत मध्यपश्चिमको सबैभन्दा ठूलो शिक्षा क्याम्पस अहिले नै आफूहरुले पाउने सहमति भएको अनेरास्ववियुका महासचिव नरेश रोकायाले बताए । यसैबीच केन्द्रमा भएको सहमतिविपरीत क्रान्तिकारीले बागेश्वरी बहुमुखी क्याम्पस र बबइमा उम्मेदवारी दिएको छ भने अनेरास्ववियुले पनि केन्द्रीय क्याम्पस सुर्खेतमा सभापतिमा उम्मेदवारी दिएको छ ।

क्रान्तिकारीले सहमतिबमोजिम उम्मेदवारी फिर्ता गराए आफूहरू पनि फिर्ता गराउन तयार रहेको महासचिव रोकायले बताए ।

त्यस्तै भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा केन्द्रमा भएको सहमतिविपरित क्रान्तिकारीले नेविसंघसँग मिलेर उम्मेदवारी दिएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर