रुपन्देही सुपर लिग: मेलवर्न क्रिकेट क्लबलाई ८ विकेटको सफलता – Nepal Press

रुपन्देही सुपर लिग: मेलवर्न क्रिकेट क्लबलाई ८ विकेटको सफलता

रुपन्देही । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत डिभिजन ‘ए’को आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब विजयी भएको छ । मेलवर्नले मल बुटवल राइनोजलाई ८ विकेटले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल निर्धारित ५० ओभरको खेलमा २३.२ ओभरमै सबै विकेट गुमाउँदै ५९ रनको झिनो योगफलमा रोकियो । उसका लागि शिव कुँवरले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न मेलवर्नका बलर चम्किए । मेलवर्नका सन्देश जिसी र रोशनलाल गुप्ताले ३-३ तथा मोहम्मद हुसेन र विष्णु कटरियाले २-२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले ९.१ ओभरमा २ विकेटको नोक्सानीमा ६३ रन बनाउँदै जीत निकाल्यो । उसका लागि समीर खानले २१, विजय प्रजापति र विष्णु कटरियाले नटआउट क्रमशः १७ र ११ रनको योगदान दिए ।

बलिङमा बुटवलका शिव कुँवरले २ विकेट लिए । मेलवर्नका विष्णु कटरिया म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर