कुशल भुर्तेलको अनुपस्थितिमा आसिफको ओपनर जोडी को ? – Nepal Press

कुशल भुर्तेलको अनुपस्थितिमा आसिफको ओपनर जोडी को ?

काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएइमा जारी श्रृंखलाको अन्तिम खेल नेपालले भोलि घरेलु टीमविरुद्ध खेल्दैछ । उक्त खेलमा नेपालका ओपनर कुशल भुर्तेल अनुपस्थित रहने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पुपुवा न्यूगिनीविरुद्धको म्याचका दौरान कुशल घाइते भएका थिए । उनलाई ग्रोइन इन्जुरी (पेट र तिघ्राबीचको भाग) भएको जनाइएको छ । क्यानले उनको प्रतिस्थापनका रुपमा सन्दीप जोरालाई १४ सदस्यीय टिममा समावेश गरिसकेको छ ।

केही समयदेखि नेपालको ओपनिङ जोडीका रुपमा आसिफ शेख र कुशल भूर्तेलले भूमिका निभाउँदै आएका छन् । घरेलु मैदानमा भएका खेलहरुमा यो जोडी निकै सफल छ, भने देशबाहिर परिणाम मिश्रित छ । लामो समयदेखि ओपनिङ कम्बिनेसनको टाउकोदुखाइ सहेको नेपाललाई कुशल र आसिफको जोडीले राहत दिएको थियो ।

यूइएमा भएका तीन म्याचमा कुशलले एक अर्धसतक र आसिफले एक सतक बनाएका छन् । यसअघि नेपालमा भएका चार म्याचमा कुशलले एक सतक र आसिफले १ अर्धसतक प्रहार गरेका थिए । कुशल एक दिवसीय र टि–२० दुवै फम्र्याटमा शतक बनाउने ब्याट्सम्यान हुन् ।

विश्वकप लिग २ को टप थ्रिमा पुगेर ग्लोबल क्वालिफयरमा स्थान सुरक्षित गर्नका निम्ति नेपालले अब बाँकी ५ वटै खेल जित्नुपर्ने अनिवार्यता छ । त्यसैले नेपालका लागि सबै खेल फाइनलसरह छ । भोलि यूएईविरुद्धको खेलमा जित हासिल गरेमा नेपालमै हुने बाँकी ४ खेलमा नेपालले क्लीन स्वीपका लक्ष्य लिन सक्छ ।

कठीन प्रतिद्वन्द्वी यूएईविरुद्ध नेपालले ओपनिङमा आसिफको जोडी कसलाई बनाउने भन्ने चिन्ता थपिएको छ । कुशलको प्रतिस्थापनमा ल्याइएको सन्दीप जोरा मध्यक्रमका ब्याट्सम्यान हुन् । उनलाई ओपनिङमा पठाउने सम्भावना न्यून छ । नेपालले अनुभवि ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ओपनिङमा उकाल्न सक्छ । अहिले तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका ज्ञानेन्द्रसँग ओपनिङको पनि प्रशस्त अनुभव छ ।

यूएईमा ज्ञानेन्द्रले आशातित प्रदर्शन गर्न सकिरहेका छैनन् । तीन वटै म्याचमा डबल डिजित छुन नसकेका ज्ञानेन्द्र चौंथोमा रन बनाउनैपर्ने दवावमा छन् । यूएईको कठिन पिचमा नेपालका लागि ज्ञानेन्द्रको ब्याटिङ महत्वपूर्ण हुन्छ ।

यदि ज्ञानेन्द्रलाई ओपनिङमा नपठाएर कुशल मल्ललाई पठाउने विकल्प पनि छ । तर, कुशलले मध्यक्रममा नै राम्रो गरिरहेकाले ओपनिङमा पठाएर जुवा खेल्ने पक्षमा प्रशिक्षक नरहेको बुझिएको छ । ज्ञानेन्द्रले ओपनिङ गरे भने सन्दीप जोराले पाचौं वा छैटौं नम्बरमा ब्याटिङ गर्न सक्छन् ।

यस भ्रमण लगत्तै नेपालमा हुने अर्को घरेलु श्रृंखलामा भने कुशल फेरि सकुशल मैदानमा फर्किन सक्ने अपेक्षा लिइएको छ । घरेलु मैदानमा उनको ब्याट निकै चल्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर