पार्टीलाई वैचारिक र अनुशासित बनाउन ’मिसन ग्रास रुट’ : टोपबहादुर रायमाझी – Nepal Press

पार्टीलाई वैचारिक र अनुशासित बनाउन ’मिसन ग्रास रुट’ : टोपबहादुर रायमाझी

रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई वैचारिक र अनुशासित बनाउन ’मिसन ग्रास रुट’ अभियान सञ्चालन गरिएको बताएका छन् । अभियानले नेता र कार्यकर्ताबीचको सामीप्यतालाई बढाएको उनको भनाइ छ ।

एमालेलाई जनताले विश्वास र भरोसा गरेकाले आउँदो चुनावमा एमालेले कम्तीमा ५१ प्रतिशत सांसद संख्या जित्ने आधार अहिलेबाट बनाएको नेता रायमाझीले बताए ।

प्रेस चौतारीले शनिवार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा रायमाझीले आगामी संघ र प्रदेश चुनावपछि बहुमतको सरकार बनाएर देश विकास गर्न अहिलेदेखि नै तयारीको रूपमा यो अभियान सञ्चालन गरेको दाबी गरे ।

‘पार्टीलाई वैचारिक, अनुशासित र चुस्त दुरुस्त बनाउन यो अभियान सञ्चालन गरेका हौँ । आगामी चुनावमा बहुमत ल्याएर देशको नेतृत्व गर्छौँ,’ रायमाझीले भने ।

रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्‍याउने उद्देश्य ‘मिसन ग्रास रुट’मा बनाइएको बताए । रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए। उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रास रुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा। राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे ।

वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो ।

भट्टराईले सहमति भंग गरेर पुष्पकमल दाहालले बेइमानी गरेको भन्दै कांग्रेससित नयाँ गठबन्धन बनाएकोमा आपत्ति जनाएका थिए । राष्ट्रपति निर्वाचन नझिकिरहँदा नेकपा एमालेले जनताहरूमाझ जाने र उनीहरूका गुनासो सुन्ने भन्दै देशव्यापी रूपमा ’मिसन ग्रास रुट’ सञ्चालन गरेको छ ।

अर्घाखाँचीको अभियानमा उनीहरूसहित एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पीताम्बर भुसाललगायतले विभिन्न स्थानमा सम्बोधन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर