नेपाली क्रिकेटका संक्रमणकालीन ‘लोकल गुरु’ जसले एकदिवसीय मान्यता दिलाए, तीनपटक विश्वकप पुर्‍याए – Nepal Press

नेपाली क्रिकेटका संक्रमणकालीन ‘लोकल गुरु’ जसले एकदिवसीय मान्यता दिलाए, तीनपटक विश्वकप पुर्‍याए

काठमाडौं । श्रीलंकन प्रशिक्षक रोय लुक डायसले जिम्मेवारी छाडेका कारण सन् २०११ मा आईसिसी यू-१९ विश्वकपको विश्वस्तरको छनोटमा नेपाललाई प्रशिक्षण गर्ने प्रशिक्षकको रिक्तता देखिँदै थियो ।

लगातार पाँचपटक यू–१९ विश्वकप खेलेको नेपाल पछिल्लो संस्करणमा भने छनोट हुन सकेको थिएन । सन् २००१ देखि २००७ सम्म लगातार चारपटक एसिसी यू–१९ एलिट कप जित्दै नेपाली टोली विश्वकप पुगेको थियो । सन् २००९ मा भने सेमिफाइनलबाटै बाहिरिएका कारण नेपालको विश्वकप ढोका बन्द भयो । तर सन् २०११ मा फाइनलसम्म पुगेर नेपालले विश्वस्तरको छनोटमा स्थान बनाएको थियो ।

करिब एक दशकको नेपाल बसाईमा डायसले उमेरस्तरदेखि सिनियर राष्ट्रिय टोलीको प्रशिक्षण आफैले सम्हालेका थिए । तत्काल विदेशी प्रशिक्षक नियुक्तिको स्थिति पनि नरहेको अवस्थामा नेपाल क्रिकेट संघ–क्यानले घरेलु प्रशिक्षक जगत टमटालाई विश्वास गर्‍यो ।

आयरल्यान्डमा हुन गइरहेको विश्वस्तरको छनोटमा राहुल विश्वकर्मा, पृथु बास्कोटा, प्रदिप ऐरी, नरेश बुढाएर, भुवन कार्की, अविनाश कर्ण, राजेश पुलामी, सागर पुनजस्ता खेलाडी नेपाली टोलीमा थिए ।

आयरल्यान्ड, अफगानिस्तान, क्यानडा, केन्या, नामिबिया, पपुआ न्युगिनी, स्कटल्यान्ड, अमेरिकी र भानुआतुसहित १० टोलीबाट शीर्ष दुई टोली मात्र विश्वकपमा छनोट हुने भएकाले नेपालको यात्रा सहज थिएन ।

तर राउन्ड रोबिन आधारमा सन्चालित प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्‍यो । नेपाली टोली ९ मध्ये २ खेलमा मात्र पराजित भएर उपविजेता बन्दै छैटौँपटक विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।

नेपाली टोली क्यानडा र स्कटल्यान्डसँग मात्र पराजित भएको थियो। एक वर्षपछि आयोजित विश्वकपमा भने टमटा सहायक प्रशिक्षक बने, प्रमुख प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेलाई दिइयो ।

सन् २०१५ मा आयोजित एसिसी यू–१९ प्रिमियर लिगमा नेपाल उपविजेता भएपछि विश्वस्तरको छनोटमा पुगेको थियो । महादेशीय प्रतियोगितामा उपविजेता बनेका पाँच टोली विश्वस्तरको छनोटमा थिए ।

तीमध्ये दुई वटा टोली विश्वकपमा पुग्ने कोटा थियो । यो अवस्थामा सिनियर राष्ट्रिय टोलीका प्रशिक्षक दासानायके नेपालको जिम्मेवारी छाड्ने तयारीमा थिए ।

त्यसैले, टमटाले यू–१९ राष्ट्रिय टोलीको जिम्मेवारी पाउने अवस्था बन्यो । मलेसियामा भएको छनोटमा नेपालले शानदार प्रदर्शन गर्दै विजेता बन्यो । आयरल्यान्डसहितका सबै चार टोलीलाई हराएर नेपालले एक वर्षपछि बंगलादेशमा आयोजनाा हुने विश्वकपमा स्थान बनाएको थियो ।

नयाँ विदेशी प्रशिक्षक नियुक्त नभएका कारण नेपाली टोलीलाई विश्वकपमा प्रशिक्षण गर्ने जिम्मेवारी टमटाले नै पाए । राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सुनिल धमला, आरिफ शेख, कुशल भुर्तेलजस्ता खेलाडीहरु नेपाली टोलीमा थिए । नेपाली टोलीले विश्वकपमा १६ वर्षपछि पहिलोपटक दोस्रो चरणको यात्रा तय गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।

समूहगत चरणमा नेपालले आयरल्यान्ड र न्युजिल्यान्डजस्ता टोलीलाई हराएको थियो। सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध ह्याट्रिक गरेका थिए । नेपालको यात्रा बंगलादेशसँग पराजित भएर क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन ।

त्यसपछिका तीन संस्करणमा नेपाली टोली एसियाली छनोटमै सिमित भयो। तर टमटाको हाई हाई भने कायमै रह्यो। नेपाल क्रिकेट संघ–क्यानका पदाधिकारीहरु अख्तियार धाइरहेका बेला विदेशी प्रशिक्षक भित्रने अवस्था बनिरहेको थिएन। यस्तो अवस्थामा सिनियर राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने अवसर पनि टमटालाई आईपर्‍यो ।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपबाट नेपाल डिभिजन २ मा झरेको थियो तर विश्वकपको विश्वस्तरको छनोट खेल्ने सम्भावना भने कायमै थियो। सन् २०१८ को फेब्रुअरीमा नामिबियामा भएको डिभिजन २ मा सहभागी ६ टोलीमध्ये शीर्ष दुई टोलीले विश्वस्तरको छनोटमा स्थान बनाउने थिए । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन पनि कम्तिमा विश्वस्तरको छनोटमा पुग्नु अनिवार्य थियो ।

यही जिम्मेवारी र चुनौतीसहित टमटा नेपाली टोली लिएर नामिबिया पुगेका थिए। त्यहाँ नेपाल डिभिजन २ उप विजेता बन्दै विश्वस्तरको छनोटमा पुग्यो । चार टेस्ट मान्यताप्राप्तसहित १२ टोली सहभागी रहेको विश्वस्तरको छनोटबाट नेपाल अगाडि बढ्न त सकेन तर ऐतिहासिक सफलताका रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । टमटा नेपाललाई यो सफलता दिलाउने प्रशिक्षक बने ।

राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीसमेत रहेका टमटाले गत वर्षमात्र सेवाबाट अवकाश पाएका थिए । तर क्रिकेटमा उनको सक्रियता घटेको छैन। यूएईमा बिहीबार सम्पन्न यू-१९ विश्वकपको एसियाली छनोटमा टमटा नै नेपाली टोलीको प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा नेपालले ८ वर्षपछि आईसिसी यू-१९ विश्वकपमा स्थान बनाएको छ ।

निर्णायक खेलमा यूएईविरुद्ध प्राप्त ७ रनको नाटकीय जितसँगै नेपालले विश्वकपमा ८ वर्षपछि पुनरागमन गरेको थियो । यो सफलतापछि प्रशिक्षक टमटाले खुसी व्यक्त गरेका छन् ।

’२०१६ वर्षपछि यो प्रतियोगितामा ब्रेक लागेको थियो तर यसपटक हामी छनोट भएका छौँ’, टमटाले भनेका छन्, ’केटाहरुले राम्रो क्रिकेट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएका छौँ । यसको सम्पूर्ण श्रेय खेलाडीहरुलाई जान्छ ।’

एशियाली छनोटबाट विजेता मात्र विश्वकप पुग्ने थियो । नेपालले छनोटका सबै खेलमा जित हात पार्दै विश्वकपमा स्थान बनाएको छ । यसले नेपाली प्रशिक्षकमा पनि विश्वकपमा छनोट गराउन सक्ने क्षमता रहेको टमटाले फेरि एकपटक देखाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर