लुम्बिनीको हालसम्मको प्रगति २४ प्रतिशत, परिणाममुखी काम गर्न मुख्यमन्त्री गिरीको निर्देशन – Nepal Press

लुम्बिनीको हालसम्मको प्रगति २४ प्रतिशत, परिणाममुखी काम गर्न मुख्यमन्त्री गिरीको निर्देशन

रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७९÷०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री गिरीले परिणाममुखी काम गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिएका हुन् ।

उनले लुम्बिनीलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनेतर्फ सबै लाग्नुपर्ने औंल्याए ।

‘जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्दछ । पूर्वाधारको विकासले मात्रै मुलुक समृद्ध बन्दैन’, मुख्यमन्त्री गिरीले भने, ‘जबसम्म जनताको जीवनस्तर सुधार ल्याउने खालका कार्यक्रम गर्दैनौं तबसम्म जनताले परिवर्तन महसुस गर्न पाउँदैनन् । यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्दछ ।’

परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने उनको भनाइ थियो ।

‘प्रदेशको मुख्य समृद्धिको आधार कृषि हो । तर, कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौं, यो दुःखद विषय हो । सम्बन्धित मन्त्रालयले यस विषयमा योजना बनाएर काम गर्नुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, ‘उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गरेर अगाडि बढ्नुपर्दछ । सरकारले उत्पादित वस्तुको बजारीकरण गर्ने कार्यक्रम अगाडि सार्नुपर्दछ । यस विषयमा मन्त्रालयले विशेष योजना बनाउनुपर्दछ ।’

कृषिसँगै वन सम्पदाको प्रचुर सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री गिरीले यससम्बन्धी योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।

हालसम्मको प्रगति २४ प्रतिशत

लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्षको हालसम्म २४.३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दीपकराज नेपालले चालू आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेश सरकारका मन्त्रालयगत जम्मा खर्च २४.३२ प्रतिशत रहेको जानकारी दिए ।

उनका अनुसार चालू खर्च २८.८९ र पूँजीगत खर्च २०.९८ प्रतिशत रहेको छ । समीक्षा कार्यक्रममा मन्त्रालयका सचिवहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *