सन्दीपबिना यूएइमा नेपालको कठिन परीक्षा, आज पहिलो म्याच खेल्दै – Nepal Press

सन्दीपबिना यूएइमा नेपालको कठिन परीक्षा, आज पहिलो म्याच खेल्दै

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले त्रिदेशीय एकदिवसीय शृङ्खलामा सोमबार देखि आयोजक यूनाइटेड अरब इमिरेट्स(यूएई) र पपुवा न्यूगिनी(पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन र शीर्ष तीन भिडन्तका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ ।

लिग २ मा आठ खेल बाँकी रहँदा नेपालले सात खेल जितेमा शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्ने छ । पछिल्लो समय घरेलु मैदानमा चारमध्ये चारै खेल जितेर नेपालले देखाएको लयलाई यूएईमा पनि कायम राख्न दबाब छ । आठ खेलमा चार खेल नेपालले घरेलु मैदानमा खेल्नेछ त्यसैले, यूएईमा हुने शृङ्खलामा नेपालले कम्तीमा तीन खेल जित्नुपर्ने हुन्छ ।

नेपाली क्रिकेट टिमको मुख्य चुनौती भनेको घरेलु मैदानमा देखिएको ब्याटिङको लयलाई विदेशी भूमिमा पनि कायम राख्नु हुनेछ । सधैँ घरेलु मैदानमा चम्किने नेपालको ब्याटिङले विदेशी भूमिमा सङ्घर्ष गरेको थुप्रै उदाहरणहरु छन् ।

यद्यपि, मुख्य प्रशिक्षकको जिम्मेवारी मोन्टी देसाईले सम्हालेपछि टिममा थुप्रै सकारात्मक परिवर्तन देखिएको छ । ती सकारात्मक परिवर्तनको मुख्य तत्त्व हो ‘टीम यूनिटी’ र टीयू मैदानमा सबै खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शन । नेपालमा सम्पन्न शृङ्खलामा हरेक खेलाडीमा टिममा आफ्नो भूमिका बुझेको आम समर्थकले महसुस गरेका थिए । नेपालले खेलेको चारै खेलमा फरक खेलाडीले प्रदर्शन गरेका थिए । कहिले शीर्ष क्रमका खेलाडी चम्किए त कहिले शीर्ष क्रम ‘कोल्याप्स’ भएको बेला मध्य क्रमका खेलाडीले इनिङ धाने । मध्य क्रम धरापमा पर्दा तल्लो क्रमका खेलाडीहरूले ‘म्याच विनिङ’ प्रदर्शन गरे । २ सय भन्दा माथिको लक्ष्य पाएमा डराउने पर्ने नेपालको विगत थियो । तर, अघिल्लो शृङ्खलामा नेपालले चारै खेल दुई सयभन्दा माथि करिब तीन सय सम्मको लक्ष्य पुरा गरेर ५० ओभर अगावै खेल जिताएका थिए ।

तर, यूएईमा नेपालले खेल्ने मैदानमा नामिबियाले दुई खेलमा सय भन्दा माथिको योगफलका लागि संघर्ष गर्नु परेको थियो । पिच को अवस्था घरेलु मैदाको भन्दा फरक भएपनि चारै खेल जित्ने नेपालको लक्ष्य छ ।

नेपालका लागि यसपालि मुख्य चिन्ताको विषय भनेको स्पिनर सन्दीप लामिछानेको अनुपस्थिति हो । उनी विदेश भ्रमणमा रोक लागेकाले यूएइ जान पाएनन् । भोलिको म्याचमा सन्दीप अनुपस्थित रहने निश्चित भएको छ । अदालतले भोलि प्रतिवन्ध फुकुवा गरे मात्र बाँँकी ३ म्याच खेल्न सक्नेछन् ।

सन्दीप घरेलु मैदानमा भएको शृङ्खलामा उच्च लयमा थिए । शृङ्खला नेपाललाई क्लीन स्वीप गराउन उनको मूख्य भूमिका थियो ।

यस्तो छ विश्वकप छनोट खेल्ने समीकरण :

लिग–२ को अन्तिम खेलमा नामिबियाले यूएईलाई पराजित गरेसँगै बाँकी आठ खेलमा नेपालले ७ खेल जिते सोझै विश्वकप छनोट खेल्ने समीकरण छ । पछिल्लो समय एकदिवसीय मान्यता पनि नजोगिएला कि भन्ने स्थितिमा रहेको नेपाल पछिल्लो समय लयमा फर्किएको छ । त्यसैले नेपाललाई एकदिवसीय मान्यता मात्रै जोगाउन पनि ८ मध्येका पाँच खेल जित्नु पर्ने दबाब छ ।

लिग २ मा शीर्ष तीनमा रहने टिमले आगामी जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् । स्कटल्यान्ड र ओमानको यसअघि नै क्रमशः शीर्ष र दोस्रो स्थानमा रहेर विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।

तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपालबीच भिडन्त हुनेछ । आफ्नो सबै खेल खेलिसकेको नामिबिया ३६ खेलमा १९ जित र १६ हारको नतिजासहित ३९ अंक जोडेको छ ।

नेपालको २८ खेलमा १४ जित र चौध हारको नतिजासहित छैटौँ स्थानमा छ । यूएई २८ खेलमा १३ जित र १२ हारको नतिजासहित २९ अंक जोडेर पाँचौँ स्थानमा छ ।

नेपालले बाँकी सबै खेल जित्दा ४२ अंक र ७ खेल जित्दा ४० र ६ खेल जित्दा ३८ अंकमात्रै हुने भएकाले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहन ८ मध्य ७ खेल जित्नु पर्नेछ । बाँकी खेलमा दुई खेलमा मात्रै पराजय बेहोरे नेपालको विश्वकप छनोट सम्भावना सकिने छ ।र, एकदिवसीय मान्यता प्राथमिकता हुनेछ ।

एकदिवसीय मान्यता जोगाउन नेपालले पाँच खेल जितेर ३६ अंक बनाएर ३५ अंकसहित चौथो स्थानमा रहेको अमेरिकालाई पछि पार्नु पर्नेछ ।

नेपालले लिग २ मा बाँकी दुई शृङ्खलामा यूएई र पीएन्जीसँग समान ४–४ खेल खेल्नेछ । यूएईसँग खेलेका पछिल्ला ९ एकदिवसीय खेलमा नेपालले ४ खेलमा मात्रै जित निकालेको छ । यस्तै, पीएनजीलाई पछिल्ला ६ खेल मध्य नेपालले ४ खेलमा पराजित गरेको छ ।

यूएई शृंखलाको पहिलो खेलमा नेपालले सोमबार पीएनजी, दोस्रो खेल बिहीबार यूएईसँग, तेस्रो शुक्रवार पीएनजीसँग र चौथो खेल सोमबार खेलेर नेपाल लिग २ को अन्तिम शृङ्खलाका लागि स्वदेश फर्किनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *