परराष्ट्रमन्त्रीलाई रोकेर गोविन्द बन्दीलाई जेनेभामा राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी – Nepal Press

परराष्ट्रमन्त्रीलाई रोकेर गोविन्द बन्दीलाई जेनेभामा राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी

काठमाडौं । परराष्ट्रमन्त्री बिमला राई पौड्यालको स्वीट्जल्यान्ड भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएपछि राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा नेपालको प्रतिनिधित्व नेकपा एसका नेता गोविन्द बन्दीले गर्ने भएका छन् ।

स्रोतका अनुसार उनले नेपालका प्रधानमन्त्रीको सल्लाहकारका रुपमा जेनेभामा सो बैठकमा भाग लिने भएका हुन् ।

तीन दिनअघि मन्त्रीपरिषद वैठकमा परराष्ट्रमन्त्री जेनेभा भ्रमणमा जाने प्रस्ताव आउँदा प्रधानमन्त्री प्रचण्डले एकजना वैदेशिक मामला विज्ञलाई पनि सहभागी गराउन निर्देशन दिएका थिए ।

पौड्यालले विज्ञको विषयमा जिज्ञासा राख्दा प्रचण्डले गोविन्द बन्दीको नाम लिएका थिए । पौड्यालले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेकी थिइन् ।

जेनेभा भ्रमणका लागि पौडेलले आफ्नो सम्बोधनसहित सबै तयार सिध्याएकी थिइन् । लुगा प्याकसमेत गरेर एयरपोर्ट जाने तयारीमा रहेका बेला मुख्य सचिवले फोन गरेर उनलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । ‘जेनेभा नजानु भन्ने प्रधानमन्त्रीको निर्देशन छ’ भनिएपछि पौड्याल रोकिएकी छन् ।

मन्त्री रोकिएपछि उनीसँगै विज्ञका रुपमा जाने भनिएका बन्दी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज जेनेभा प्रस्थान गरेका छन् । स्रोतका अनुसार उनलाई नै नेपालको प्रतिनिधित्व गरेर सम्वोधन गर्न भनिएको छ ।

उनले प्रधानमन्त्रीका सल्लाहकारका रुपमा वैठकमा भाग लिनेछन् । जबकी उनलाई त्यस्तो कुनै पनि नियुक्ति दिइएको थिएन । यसअघिको देउवा सरकारमा कानूनमन्त्री रहेका बन्दी अहिले कुनै पनि सार्वजनिक पदमा छैनन् । यद्यपि, ब्याक डेटमा सल्लाहकारको नियुक्ति दिएर पठाइएको हुन सक्ने स्रोत बताउँछ ।

प्रतिक्रिया

2 thoughts on “परराष्ट्रमन्त्रीलाई रोकेर गोविन्द बन्दीलाई जेनेभामा राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी

  1. भाडाको टट्टुलाई मोदीले फोन गरेर रोक भनेछ । टट्टुले आदेश पालना गर्यो । अब मोदीले टट्टुलाई मेरो दर्शन भेट नपाई लखरलखर अन्यत्र किन भन्छ टट्टुले हस् ख्वामित भनेर कतार भ्रमण रद्द गर्छ ।

    1. प्रचण्डलाई राम्रै भेटी चढाएछ । सम्पत्ति शुद्वीकरण विभाग स्वतन्त्र भए को मार्फत कति पैसामा लेनदेन भयो अनुसन्धान गरेर पत्ता लगाउन सक्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर