माधव नेपाललाई ओलीको पत्र- राष्ट्रपतिमा सुवास नेम्वाङलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ – Nepal Press

माधव नेपाललाई ओलीको पत्र- राष्ट्रपतिमा सुवास नेम्वाङलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एकीकृत समाजवादीलाई पत्र पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाललाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवार भएका सुवास नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै पठाएका हुन्।

आम निर्वाचनको नयाँ जनादेशअनुरूप पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दर्ता गरेको उल्लेख गरेको छ।

ओलीले नेपाललाई पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।’

एमाले शनिबार बिहान बसेको सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई राष्ट्रपतिमा सहयोग माग्दै पत्र लेख्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार नेकपा एसलाई पनि पत्र पठाएको हो।

पुस १० गते एमाले नेतृत्वमा बनेको ७ दलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघिकै गठबन्धन ब्यूँताएका छन्। पुरानो ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर