केन्द्रमा फेरिएको समीकरणले जोगियो सुदूरपश्चिमकाे कांग्रेस सरकार – Nepal Press

केन्द्रमा फेरिएको समीकरणले जोगियो सुदूरपश्चिमकाे कांग्रेस सरकार

कैलाली । मुख्यमन्त्री नियुक्त भएको आधा महिना बितिसक्दा विश्वासको मत पाउने आधार नपाइरहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले अन्ततः विश्वासको मत पाउने भएका छन् । केन्द्रमा हिजो बनेको नयाँ राजनैतिक समीकरणका कारण शाहको सरकार जोगिने निश्चित भएको हो ।

मुख्यमन्त्री नियुक्त भएको दिन देखी ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रीय समीकरणमा कांग्रेस बाहिर रहेपनि संविधानको धारा १६८ को ३ अनुसार सुदूरपश्चिममा शाह मुख्यमन्त्रीमा नियुक्त भए । तर, एमाले र माओवादीको गठबन्धनका कारण विश्वासको मत नपाउने विश्लेषण भइरहेका बेला अन्ततः ः उनी सुरक्षित भएका छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९ र माओवादीका सभामुख सहित ११ सांसद छन्। यी दुई दल मात्रै मिल्दा पनि उहाँ कांग्रेसको सरकार जोगिन्छ । तर, माओवादीले विश्वासको मत दिने भन्ने निर्णय भने गरिसकेको छैन ।

माओवादी नेताहरू केन्द्रबाटै उच्चस्तरीय तालमेल भएको हुँदा प्रदेशमा छुट्टै निर्णय नहुने बताउँछन् ।‘केन्द्रमा माओवादी र कांग्रेस एकै ठाउँमा उभिएका छन् सुदूरपश्चिम प्रदेशमा पनि त्यहि अनुसार हुन्छ’ माओवादी सांसद ओमविक्रम भाट सरल भन्छन्, ‘सुदूरपश्चिममा छुट्टै निर्णय गर्ने भन्दा पनि केन्द्रकै निर्णय अनुसार अघि बढ्ने भन्ने कुरा हुन्छ ।’

पुस २७ मा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएपछि माघ २६ मा रावलले राजीनामा दिए । त्यसपछि मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् । आगामी २५ गते भित्रै उनको विश्वासको मत लिइसक्नु पर्ने । कांग्रेसले अब केही दिन भित्रै विश्वासको मत लिने तयारी गरिरहेको छ ।

‘केही दिन भित्रै हामी विश्वासको मत लिन्छौँ’ प्रदेश महामन्त्री समेत रहेका कांग्रेस सांसद मेघराज खड्का भन्छन्, ‘त्यस बिषयमा छलफल भइरहेको छ ।’

केन्द्रीय ८ दलीय गठबन्धन भएका कारण सुदूरपश्चिम प्रदेशमा कांग्रेस सरकार जोगिने निश्चित छ । ८ दल भित्र नागरिक उन्मुक्ति पार्टी पनि समावेश छ । यहाँ उन्मुक्तिका ७ सांसद छन् । ती सांसदले मत दिने वा नदिने निर्णय भने गरिसकेका छैनन् । उनीहरुको पनि मत पाए सुदूरपश्चिम प्रदेशका कांग्रेसको बलियो सरकार बन्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर