रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी – Nepal Press

रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स ३२८ रनले विजयी

रुपन्देही । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा प्रोफेसनल मास्टर्स ११ विजयी भएको छ । उसले लुम्बिनी शाक्यानलाई ३२८ रनको विशाल अन्तरले पराजित गरेको हो । लिगको इतिहासमा यति ठूलो रन अन्तरले हारजित भएको यो पहिलो हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा ४१८ रनको विशाल योगफल बनाएको थियो । उसका उक्त योगफल बनाउन दिलशाद अलीले १४२ रनको योगदान दिए । यस्तै सचिन राजभरले ३९, अजय रसाइलीले ३२, जितेन्द्र शाहनीले ३१, आदित्य त्रिपाठीले ३०, इमरान पठानले नटआउट २८ र इमरान खानले २४ रन जोडे ।

बलिङमा लुम्बिनीका इमरान अहमद, सजाउद्दिन अन्सारी, एजाज खानले समान २–२ तथा राहुल गिरी, रुपेश बस्याल र आशिष लोहनीले १–१ विकेट लिए ।

प्रत्युत्तरमा ४१८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २०.४ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो । उसका लागि रुपेश बस्यालले ३० र अफजल हुसेनले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनलका दिनेश अग्रवालले ५ तथा इमरान पठानले ४ विकेट लिए । प्रोफेसनलका दिलशाद अली म्यान अफ द म्याच घोषित भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता छ । प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर