आउँदा दिनमा माधवजीलाई अवसर दिन कांग्रेस तयार छ, अहिले राष्ट्रपति हाम्रै : महत – Nepal Press

आउँदा दिनमा माधवजीलाई अवसर दिन कांग्रेस तयार छ, अहिले राष्ट्रपति हाम्रै : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गरेका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सवै दलहरूसँग सकारात्मक रूपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने बताए ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उनको भनाइ थियो ।

नेकपा एससँग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई पनि उसले साथ दिने महतको विश्वास थियो ।

‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो । त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो । अन्य दलहरूले पनि सकारात्मक कुरा नै गर्नुभएको छ । बेलुका पनि छलफल हुँदैछ । आज बेलुकासम्म निष्कर्ष निस्किन्छ’, महतले भने, ‘भोलि त नोमिनेसन गर्नु नै छ । राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा सरकारको समर्थनमा कुनै समस्या आयो भने त्यसपछि यस विषयमा सोच्न सकिन्छ । माधवजी राष्ट्रपति पदको लागि अत्यन्त योग्य नेता पनि हुनुहुन्छ तर हामीले अहिले उहाँको सहयोगको अपेक्षा गरेका छौं ।’

‘यसअघि राष्ट्रपति पदको दुरुपयोग भयो । अब कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुन्छ’, उनको भनाइ छ ।

अरु विषयमा समाजवादीसँग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको महतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर