टाइब्रेकरमा एनआरटीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा (भिडिओ) – Nepal Press

टाइब्रेकरमा एनआरटीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा (भिडिओ)

काठमाडौं । टाइब्रेकरमा न्यूरोड टिम (एनआरटी)लाई ५–४ गोलको नतिजामा पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको सेमिफाइनल प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पहिलो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो।

भारतीय फरवार्ड लालमिन्जामाले ३२औं मिनेटमा उत्कृष्ट गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। दीपेश आले मगरसँग वान्–टू पास खेल्दै पेनाल्टी एरिया भित्रबाट उत्कृष्ट प्रहार गर्दै लालमिन्जामाल गोल गरेका थिए।

पहिलो हाफमा १–० ले पछि परेको आर्मीले ५३औं मिनेटमा गोल फर्काएको थियो। जगजित श्रेष्ठले दायाँतर्फबाट प्रहार गरेको फ्रि–किकमा दीपक राईले गोललाइन नजिकबाट हेडर गरेका थिए। सोही बल पोलमा ठोकिएर एनआरटीका कप्तान विक्रम धिमाललाई लागेर गोलमा परिणत भएको थियो।

पेनाल्टी सुटआउटमा आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकाश खवास, पदम कुमार तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए। एनआरटीका एनिसेन्ट बोमी, लालमिन्जामा, निकोलस सोङ र विक्रम धिमालले गोल गर्दा स्टेफन जुनियर चुकेका थिए।

निर्धारित समयमा आर्मीका कप्तान नवयुग श्रेष्ठले ३२औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा एनआरटीका डिफेन्डर एनिसेट बोमीले बचाएका थिए। पहिलो हाफको अन्तिममा एनआरटीमाथि निरन्तर आक्रामण गरेको आर्मीका जगजित श्रेष्ठले ४०औं मिनेटमा गरेका प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

एनआरटीका गोलकर्ता लालमिन्जामाले ४१औं मिनेटमा बायाँतर्फबाट गरेको क्रसमा आर्मीका गोलकिपर विकेश कुथु बाधक बनेका थिए। त्यसको एक मिनेट नबित्दै आर्मीका दिनेश हेन्जनले प्रहार गरेको फ्रि–किक क्रसबार बाहिरमाथिबाट बाहिरिएको थियो।

पहिलो हाफको इन्जुरी समयमा आर्मीका कप्तान नवयुगले गरेको सशक्त प्रहारमा एनआरटीका गोलकिपर पुजन होना बाधक बनेका थिए। रोमाञ्चक खेलको ५१औं मिनेटमा एनआरटीका निकोलास सोङ खाली पोस्टमा गोल गर्नबाट चुकेका थिए। त्यसको दुई मिनेट नबित्दै एनआरटीले गोल खाएको थियो।

जगजितले ७५औं मिनेटमा दिएको क्रसमा आर्मीका कप्तान नवयुगले एक्रोब्याटिक फिनिसिङको प्रयास गरेका थिए। पेनाल्टी एरिया भित्र डिफेन्डरले घेरिएका नवयुगले बल खुट्टामा कनेन्ट गर्न सकेनन्। निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा जगजितले दिएको उत्कृष्ट पासमा नवयुग गोल गर्न चुकेका थिए।

आर्मीले बिहीबार भएको उद्घाटन खेलको विजेता सातदोबाटो युथ क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ। सातदोबाटो विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै अन्तिम चारमा पुगेको हो।

आजै हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लब आमनेसामने हुँदैछन्। चर्च ब्वाइज गत सिजनको बी डिभिजन तथा मछिन्द्र ए डिभिजन च्याम्पियन टिम हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर