राष्ट्रपतिमा प्रचण्डको सर्कसः एमालेसँग सहमति, कांग्रेससँग समझदारी-माधवलाई वचन, महन्थलाई आश्वासन – Nepal Press

राष्ट्रपतिमा प्रचण्डको सर्कसः एमालेसँग सहमति, कांग्रेससँग समझदारी-माधवलाई वचन, महन्थलाई आश्वासन

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा अस्थिर र अनुत्तरदायी नेताका रूपमा चित्रित गरिन्छन् । उनको यो विशेषता भावी राष्ट्रपतिको चुनावमा सन्दर्भमा फेरि एकपटक उजागर भएको छ ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले हालै भएको आमनिर्वाचनमा राम्रो नतिजा ल्याएन । प्रत्यक्ष र समानुपातिकमा जम्माजम्मी ३२ सीट जितेर माओवादीले बल्ल तेस्रो शक्तिको हैसियत जोगाउन सक्यो । तर, नेपाली मोडलको लोकतन्त्र यस्तो छ कि यहाँ चुनाव जित्नेको होइन हार्नेको हालीमुहाली चल्छ ।

‘चुनाव हारेको’ पार्टीका अध्यक्ष प्रचण्ड यतिबेला प्रधानमन्त्री पदमा राज गरिरहेका छन् भने राष्ट्रपति कसलाई बनाउने भन्ने पनि उनकै हात छ ।

आफ्नो यो ‘निर्णायक’ भूमिकालाई प्रचण्डले अचाक्ली नै दुरुपयोग गरिरहेका छन् । फलत: चुनाव सकिएर नयाँ सरकार बने पनि राजनीति थिग्रिन सकेको छैन । अस्थिर स्वभावका प्रचण्डका कारण राजनीति पनि अस्थिर बनेको छ । सत्तारुढ गठवन्धन बनेको दुई महिनामै धरापमा परेको छ ।

कांग्रेसले धोका दिएको भन्दै प्रचण्ड पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा गुहार माग्न पुगेका थिए । कांग्रेससँगको इगोले गर्दा ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार पनि भएर एकाएक नयाँ गठवन्धनको निर्माण भयो । त्यसक्रममा एमाले र माओवादीबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो । सारा मिडियाहरुले सो सहमतिबारे समाचार प्रकाशित गरेका थिए, तर अहिले माओवादी नेताहरु त्यस्तो सहमति नै नभएको दावी गर्न पछि पर्दैनन् ।

अहिले माओवादीले राष्ट्रपतिको विषयमा निर्णय गर्ने एकाधिकार प्रचण्डलाई दिने निर्णय गरेको छ । हुन त निर्णय गरिरहनु पनि पर्दैनथ्यो, एमालेमा ओलीजस्तै माओवादीमा प्रचण्डको एकाधिकार नै छ । तर, औपचारिक तवरबाटै पार्टीले आफूलाई जिम्मा लगाएपछि प्रचण्डले गरेको खेलकुद कुनै सर्कसका खेलाडीको भन्दा कम छैन । उनी आफूलाई भेट्न आउनेजत्तिलाई राष्ट्रपतिको आश्वासन दिन कञ्जुस्याइँ गरिरहेका छैनन् ।

कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि प्रचण्ड यो गठवन्धन भत्काउने रणनीतिमा लागे । एमालेसँगको सहमति तोड्दै उनले राष्ट्रिय सहमतिको राष्ट्रपति हुनुपर्ने नयाँ नारा लगाउन थाले । उनले भनेको राष्ट्रिय सहमतिको अन्तर्य चाहीँ कांग्रेसलाई राष्ट्रपति दिने भन्ने नै थियो । एमालेले कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने र कांग्रेसले एमाले उम्मेदवारलाई समर्थन नगर्ने अवस्थामा राष्ट्रिय सहमति हुँदैन भन्ने उनलाई थाहा नै थियो । तर, राष्ट्रिय सहमतिको बाँसुरी बजाएर उनी एमालेलाई राष्ट्रपति नदिने स्पष्ट रणनीतिमा थिए ।

यो बीचमा उनले कांग्रेस, नेकपा एस र जसपा तीनवटा पार्टीलाई राष्ट्रपतिको आश्वासन दिएका छन् । अस्तिको वैठकमा उनले कांग्रेससँग समझदारी नै गरेका थिए । त्यसअनुसार हिजो लिखित सहमति गर्ने कुरा थियो । तर, हिजो बेलुका फेरि तीन दलको बैठकमा उनले माधव नेपाललाई राष्ट्रपति दिन तयार भए । त्यसका लागि आज कांग्रेस र एमालेसँग वार्ता गर्ने सहमित भएको थियो । आज फेरि कांग्रेससहित चार दलको बैठक बस्यो । बेलुका ५ बजे बैठक बसेर पुरानो गठवन्धन ब्यूँताउने भन्दै नेताहरू उठेका छन् ।

त्यसो त यसबीचमा प्रचण्डले महन्त ठाकुरलाई राष्ट्रपति बनाउन माग गर्दै आएका जसपा नेताहरूलाई पनि सकारात्मक जवाफ दिएका थिए ।

उनले भनेका थिए, ‘महन्थजीको नाम मेरो पनि मनमा थियो, म अरु दलहरुसँग उहाँको विषयमा छलफल गर्छु ।’

राष्ट्रपतिको मनोनयन भोलि हुँदैछ । त्यतिञ्जेलसम्ममा प्रचण्डले कोकोलाई राष्ट्रपतिमा समर्थन गर्ने हुन् भन्न सकिने अवस्था रहेन ।

प्रतिक्रिया

One thought on “राष्ट्रपतिमा प्रचण्डको सर्कसः एमालेसँग सहमति, कांग्रेससँग समझदारी-माधवलाई वचन, महन्थलाई आश्वासन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर