आज प्रचण्ड र ओलीबीच ‘फाइनल’ वार्ता, सहमति जुट्ला कि टुट्ला ? – Nepal Press

आज प्रचण्ड र ओलीबीच ‘फाइनल’ वार्ता, सहमति जुट्ला कि टुट्ला ?

कैलाली । राष्ट्रपति उम्मेदवारको विषयले सत्ता गठबन्धन नै धरापमा परेको छ । एमाले र माओवादी केन्द्रबीच नै मतभेद भएपछि अहिले गठबन्धन धरापमा परेको हो ।

सत्ता गठबन्धनको भविष्य सकिने कि जोगिने भन्ने बिषय आज दुई अध्यक्ष बीचको संवादले निर्धारण गर्ने छन् । राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने जनाएका छन् ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको संवादपछि प्रचण्डले आज ओलीसँग संवाद गर्ने हिजै साँझ जानकारी दिएका थिए ।‘छलफल चलिराख्या छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु’राष्ट्रपति उम्मेदवारको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले भनेका थिए ।

आज ओलीसँगको भेटमा सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने भन्ने बिषयमा छलफल हुने बताइएको छ । माओवादी महासचिव देव गुरुङले पनि नेताहरू सहमतिको आधार तय गर्न लागि परेको बताउँछन् ।

‘नेताहरू लागिरहनु भएको छ सहमतिको आधारमा राष्ट्रपतिको विषय टुङ्गो लाग्छ’ उनले नेपाल प्रेसलाई भने ।पूर्ववत् सहमति अनुसार एमालेले राष्ट्रपति पाउनु पर्ने अडान राखिरहेको छ । तर, उम्मेदवार भने अझै निर्णय गरेको छैन । भोली बिहान सम्म मात्रै उम्मेदवारको निर्णय गर्ने एमालेको तयारी छ ।

‘१३ गते पदाधिकारीको बैठक मार्फत उम्मेदवारको निर्णय हुन्छ’ एमाले उपाध्यक्ष युवाराज ज्ञवालीले भने । २५ गते हुने निर्वाचनको लागि १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।

आज ओली र प्रचण्ड बिचको वार्ता सकारात्मक भए गठबन्धनमा सहमति जुट्ने नभए गठबन्धन टुट्ने आशङ्का गरिएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्नु अघि प्रचण्ड कांग्रेससँग छलफलमा बस्ने छन् । आजै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

2 thoughts on “आज प्रचण्ड र ओलीबीच ‘फाइनल’ वार्ता, सहमति जुट्ला कि टुट्ला ?

  1. यो ‘फाइनल’ बार्ता भनेको के ? ::: राजनीतिक नैतिकता, बोलि-बचनको ठेगान सबै समाप्त भयो अब भनेर सहिछाप लगाउने हो ??:: स्थायित्व र प्रगतिको सम्भावनाको अलिकत्ति खुल्न लागेको ढोका पुरै बन्द गर्ने ::: ‘कुनै रुपमा ओली’ र एमाले’ जोडिएको भएर कम्फ़र्टेबल भएन सरकार भारतको लागि भनेर औपचारिक रुपमा एमाले संग सम्बन्ध बिच्छेद गरेर ‘मनपरी गर्न पाउने’ सुरक्षित महलको सिलान्यास गर्ने भनेको हो ?? ::: भारतीय एजेन्टहरु झन् मजबुत भएर अघि बढ्ने र भय रहित भएर ५ बर्षे सरकारी जागिरको यात्रा सुरु गर्ने (रिजुम) गर्ने भनेको हो ?? कि के ???

  2. केही होइन कांगे्रसलाई हुस्सु बनाउने खेल हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर