सुनकोशीका किसानलाई अनुदानमा विद्युतीय स्प्रे र फलफूलको विरुवा – Nepal Press

सुनकोशीका किसानलाई अनुदानमा विद्युतीय स्प्रे र फलफूलको विरुवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले किसानलाई फलफूलका विरुवालगायत कृषि सामग्री वितरण गरेको छ ।

गाउँपालिकाले किसानसँग ५० प्रतिशत लागत साझेदारीमा फलफूलका बोटविरुवा र रोग लाग्दा किटनाशक विषादी प्रयोग गर्ने विद्युतीय स्प्रे वितरण गरेको हो ।

गाउँपालिकाले लागत साझेदारीमा सहभागी हुन सार्वजनिक सूचना आह्वान गरेको थियो । सोही सूचनाअनुसार सहभागी किसानलाई विद्युतीय स्प्रे वितरण गरिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार प्रत्येक बस्तीमा दुईजनाको समूह बनाएर गाउँपालिकाभित्रका ६० किसानलाई टु इन वान मोडलको विद्युतीय स्प्रे वितरण गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले माग भए अरु किसानलाई पनि केही थान यस्ता उपकरण प्रदान गर्न सकिने बताए ।

गाउँपालिकाले कृषि कार्यक्रमअन्तर्गत नै स्थानीयसँगको साझेदारीमा विभिन्न फलफूलका विरुवासमेत वितरण गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत साझेदारीमा विभिन्न प्रजातिका फलफूलका विरुवा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष कान्छी लामाले जानकारी दिइन् ।

गाउँपालिकाले हिउँदे फलफूलहरु नासपाती, दाँते ओखर, किबी, अनार, आरु, जापनिज हलुवाबेद, लप्सीका विरुवा वितरण गरेको छ ।

गाउँपालिकाले लागत साझेदारीमा छिट्टै वर्षे फलफूलका विरुवासमेत वितरण गर्ने तयारी गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख सीताराम खरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *