सर्वोच्चले भाेलि प्रतिवन्ध हटाए सन्दीपलाई यूएई लगिने, क्यान आशावादी – Nepal Press

सर्वोच्चले भाेलि प्रतिवन्ध हटाए सन्दीपलाई यूएई लगिने, क्यान आशावादी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यूएइ भ्रमणमा जाने १५ सदस्यीय क्रिकेट टीम छनाेट गरेकाे छ । अदालतबाट विदेश भ्रमणमा रोक लगाएकाले स्पिनर सन्दीप लामिछाने टीममा परेनन् ।

तर, क्यानले सन्दीप यूएई जाने सम्भावना समाप्त नभइसकेको जनाएको छ । क्यानका म्यानेजर विनोद दासका अनुसार भोलि सर्वोच्च अदालतले सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिदियो भने उनी टीममा थपिनेछन् ।

‘आज हामीले खेलकुद परिषदबाट स्वीकृतिका लागि १५ सदस्यको छनोट गरेर पठाएका हौं, तर यही नै अन्तिम टोली होइन’, दासले भने ।

सन्दीपलाई धरौटीमा छोड्ने गरी उच्च अदालत पाटनले गरेको फैसला पुनरावलोकनका लागि सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको छ । उक्त पुनरावेदनको भोलि सुनुवाइ हुँदैछ ।

सन्दीपका वकिलहरुले पुनरावेदनको सुनुवाइमै विदेश भ्रमणमा लगाइएको प्रतिवन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्ने तयारी गरेका छन् । यदि त्यसमा सर्वोच्च सहमत भयो भने सन्दीपमाथिको प्रतिवन्ध फुकुवा हुनसक्छ ।

नेपाली राष्ट्रिय टीम यूएई भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । यदि सन्दीपमाथिको प्रतिवन्ध सर्वोच्चले कायम राख्यो भने उनी यूएई जान पाउने छैनन् । क्यानले सन्दीपको ठाउँमा मौसम ढकाललाई टीममा समावेश गरेको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले भोलि अदालतले उच्च अदालतको फैसला उल्टाएर प्रतिवन्ध हटाएको खण्डमा टीममा समावेश गर्न सकिने प्रतिक्रिया दिए ।

सन्दीप नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य र प्रमुख बलर हुन् । उनको उत्कृष्ट प्रदर्शनको बलमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखला क्लीन स्वीप गरेको थियो । भोलिको सुनुवाइबाट सन्दीपमाथि लगाइएको रोक सर्वोच्चले फुकुवा गर्नेमा क्यान आशावादी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर