सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग
काठमाडौं । देशभरका सुनचाँदी पेशा व्यवसायसँग सम्बन्धित तीनवटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग वुधबार भेटेर नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको प्रतिनिधीमण्डलले निर्देशिका जारी गर्न भनेको हो ।
तीनवटै महासंघको संयुक्त प्रतिनिधीमण्डलले व्यवसायीहरुको मागलाई राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिएका छन् ।
लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायवाट यसको सुनुवाई नभएको भन्दै उनीहरुले यसप्रति असन्तुष्टि समेत जनाए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठीनाई भएको बताए ।
निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यवसायिक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उल्लेख गरे ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि व्यवसायिक समस्याका विषयमा जानकारी गराएका थिए ।
अर्थमन्त्री पौडलले त्यसक्रममा व्यवसायीका समस्याहरुलाई आफूले गम्भीररुपमा लिएको र ती समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिए ।
उनले व्यवसायीले राखेका समस्याको आफूले अध्ययन गरी त्यसको समाधानका लागि आवश्यक पहल गर्ने बताए ।