धनगढी पुगेर दुर्गा प्रसाईँको प्रश्न – कारबाही हुनुपर्ने केपी हजुरबालाई कि मलाई ? – Nepal Press

धनगढी पुगेर दुर्गा प्रसाईँको प्रश्न – कारबाही हुनुपर्ने केपी हजुरबालाई कि मलाई ?

कैलाली । ‘नागरिक बचाऔँ महाअभियान’ सुरू गरेका व्यवसायी दुर्गा प्रसाईँले धनगढीमा पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । ओलीले आफूलाई प्रचण्ड र माधव नेपालविरुद्ध प्रयोग गरेको आरोपसमेत उनले लगाए ।

केही दिनअघि एमाले त्यागेको घोषणा गरेका प्रसाईँ आज धनगढीस्थित पार्क मोडमा एक कार्यक्रममा बोल्दै थिए । आफूले पूर्वराजाबाट अभियान सुरू गर्दा एमालेले कारबाही सिफारिस गरेको भन्दै उनले राजावादी पार्टी राप्रपासँग सहकार्य यरेर राजेन्द्र लिङदेनलाई मत दिन लगाएका ओलीमाथि कारबाही किन नगरेको भन्ने प्रश्न गरे ।

‘मेचीनगरमा मैले पानसमा बत्ती बालेको थिएँ, बन्दुक पड्काएको थिइनँ । हजुरबा (ओली) ले पार्टीबाटै निर्णय गराएर राजा बोक्ने पार्टी राप्रपा राजेन्द्र लिङदेनलाई भोट हाल्न लगाउनुभयो । उहाँलाई कारबाही हुनुपर्ने कि मलाई कारबाही हुनुपर्ने ?’ प्रसाईँले भने ।

उनले थपे, ‘म पनि केपी हजुरबुबालाई तपाईँको केन्द्रीय सदस्य तपाईँ नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ ।’

प्रसाईँले आफूलाई माधवकुमार नेपाल र प्रचण्डविरुद्ध प्रयोग गरिएको समेत दाबी गरे ।

‘हिजो उहाँ (ओली) ले हामीलाई माधवकुमार नेपालमाथि खनिन लगाउनुभयो, प्रचण्डमाथि खनिन लगाउनुभयो । हिजो प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले (शान्ति सम्झौतामा) हस्ताक्षर गर्दैगर्दा पछाडिको भागमा बसेर लुकेर हर्नुहुन्थ्यो मेरा हजुरबुबाहरू’, उनले भने ‘देशमा गणतन्त्र ल्याउने प्रचण्ड र गिरिजा हुन् ।’

नेपालीको समस्या समाधान गर्न आफूले थालेको अभियानलाई साथ दिन प्रसाईँले आग्रह गरे । दलीय राजनीतिले समाजलाई विभाजन गरेको उनको आरोप थियो । उनले सीमित व्यापारी र नेताका कारण मुलुक समस्यामा परेको जिकिर गरे ।

‘कि तपाईंहरू डोरी लिएर, पेट्रोल लिएर तयार हुनुहोस् कि सामन्तिसँग लड्न तयार हुनुहोस् । ५५ जना व्यापारी र १० जना नेताको हातमा पैसा छ । दुबईमा भिल्ला किनेर राखेका छन् । हामी सबै मिलेर लडौँ, नत्र बाँच्ने छैनौं,’ प्रसाईँले थपे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर