कमल थापाको दाबी- दलहरुको अस्थिरताले देशको एकता र संविधान नै धरापमा पर्‍यो – Nepal Press

कमल थापाको दाबी- दलहरुको अस्थिरताले देशको एकता र संविधान नै धरापमा पर्‍यो

'यो गठबन्धन झन अपवित्र छ, यसले मुलुकलाई दुर्घटनातर्फ धकल्नेछ'

रुपन्देही । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूको अस्थिरताको कारणले देशको एकता र संविधान नै धरापमा परेको जनाएका छन् ।

पूर्वउपप्रधानमन्त्री थापाले अबको राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको दाबी गरे ।

देशमा विदेशी चलखेल बढ्नुमा दलहरु नै दोषी भएको बताउँदै थापाले मुलुकको स्वाभीमानमा सचेत नरहे राष्ट्रियता कमजोर हुने चिन्ता व्यक्त गरे । राजतन्त्र फालेको १८ वर्ष पूरा भएपनि नेपालीले शान्ति र समृद्धि नपाएको जनाएका छन् ।

रिपोर्टर्स क्लबले वुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दासमेत जनताले शान्ति र समृद्धि नपाएकाले अब राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् ।

‘अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने समय आयो, २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नागरिकले गर्न पाएनन्’, उनले भने ।

नेता थापाले सत्ता स्वार्थमा गठबन्धन फेरिरहेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको आरोप लगाए । ‘अहिलेको गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने एकै ठाउँमा बसेका छन् । यो गठबन्धन झन अपवित्र छ ।’, उनले भने, ‘यसले मुलुकलाई दुर्घटनातर्फ धकल्नेछ । ’

अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उनले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताए ।

अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बीचमा आशंका र अविश्वासको खाडल रहेको बताउँदै प्रजातन्त्र दिवसमा पूर्वराजाले दिएको सन्देशमा राजनीतिक दलहरूसंग समन्वय गर्ने भनेपनि यसको लागि निकै ढिलो भएको बताए ।

उनले राजाले दिएको अभिव्यक्ति दोहोरो प्रवृतिको देखिएको बताउँदै दलहरुसँगको सहकार्य सकारात्मक रहेको र मौन बस्दिन भन्ने कुराले विवाद सिर्जना गर्नेतर्फ संकेत गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर