३ करोडभन्दा बढी भ्रष्टाचारको उजुरीपछि पुनर्बीमा कम्पनीका सीईओ रायमाझीमाथि छानबिन सुरू – Nepal Press

३ करोडभन्दा बढी भ्रष्टाचारको उजुरीपछि पुनर्बीमा कम्पनीका सीईओ रायमाझीमाथि छानबिन सुरू

सीईओ शंकरकुमार रायमाझी भन्छन्- अवैध तरिकाले एउटा पेन पनि लिएको छैन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ३ करोडभन्दा बढी भ्रष्टाचार गरेको दाबीसहित कारबाहीको माग गर्दै रायमाझीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरीउपर अनुसन्धान गर्न अख्तियारले बीमा प्रधिकरणमार्फत नेपाल पुनर्बीमाबाट आम्दानी-खर्च विवरणलगायतका कागजपत्र मगाएको बताइएको छ ।

पुनर्बीमा कम्पनीका एक कर्मचारीले नै सीईओ रायमाझीले ३ करोड २० लाख भ्रष्टाचार गरेको जिकिर गर्दै उजुरी हालेका हुन् ।

‘शंकरकुमार रायमाझीको नियुक्तिपश्चात कम्पनीको व्यवसाय वृद्धि नभएको, खर्च गर्दा कमिसन लिने गरेकोले खर्चमा वृद्धि भएको छ । निजले पुनर्बीमा (रेट्रो सेशन) गर्दा साथै अन्य व्यवसायिक कारोबारबाट करिब ३ करोड २० लाख रकम नितिगत भ्रष्टाचार गर्दै कम्पनीलाई हानी नोक्सानी पुगेको छ,’ उजुरीमा उल्लेख छ ।

विगत ५ वर्षको रेट्रो सेशन गर्दा रेट्रो गर्ने पुनर्बीमकहरूबाट प्राप्त गर्ने आय तथा सुविधा अत्यधिक भएकोमा सीईओ रायमाझीले नियुक्तिपछि पछिल्लो २ वर्षदेखि ब्रोकर कम्पनी तथा रेट्रो पुनर्बीमकहरूसँग मिलोमतो गरी कम्पनीलाई कम आय, कम सुविधा तथा कम रेट्रो कमिसन प्राप्त हुने गरी सम्झौता गरेको पनि उजुरीमा लेखिएको छ ।

कम्पनीले आव २०७७/७८ मा करिव २० करोड अफिस इक्विपमेन्ट, मसलन्द लगायतका खर्च गरेकोमा २०७८/७९ मा ४४ करोडले वृद्धि गर्दै करिब ६४ करोड पुगेको जानकारी गराउँदै कर्मचारीहरूले खर्च धेरै भएको भन्दा रायमाझीले जागिर नै खाइदिने समेतको धम्की दिने गरेको पनि अख्तियारमा दिइएको उजुरीमा लेखिएको छ ।

सरकारी लगानीको यस उक्त कम्पनीमा आर्थिक वर्ष २०७७/७८ भन्दा आव २०७८/७९ मा अफिस इक्विपमेन्ट, मसलन्दलगायतमा खर्च धेरै भएको कम्पनीले बताएको छ । वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा अफिस इक्विपमेन्ट, मसलन्दलगायतका गरेर ४६ लाख ३८ हजार भएको तथ्यांकले देखाउँछ । भने, २०७८/७९ मा अफिस इक्विपमेन्ट, मसलन्द लगायतका खर्च धेरै नै भएको देखिन्छ । कम्पनीका अनुसार यस आवमा अफिस इक्विपमेन्ट, मसलन्द लगायतमा २ करोड २९ लाख ५१ हजार खर्च भएको कम्पनीले बतायो ।

सीईओ रायमाझीले भने कम्पनी सर्दा १ करोड ७३ लाख र २०७८/७९ मा नै लोक सेवा पास गरेर ३० जना नयाँ कर्मचारी आएकाले पनि धेरै खर्च भएको बताए ।

आर्थिक वर्ष २०७७/७८ मा कम्प्युटर र इक्विपमेन्टमा ९ लाख, फर्निचरमा ७ हजार ५ सय, अफिस इक्विपमेन्ट ५ हजार र छपाई तथा मसलन्द ३ लाख ७२ हजार र आर्थिक वर्ष २०७८/७९ मा अफिस सर्दा १ करोड ७३ लाख (अफिस डेकुरेसन तथा अन्य गरी) कम्प्युटर र इक्विपमेन्टमा ३४ लाख १३ हजार, फर्निचरमा ७ लाख ५३ हजार, अफिस इक्विपमेन्ट ८ लाख १५ हजार र छपाई तथा मसलन्द ६ लाख ७० हजार भएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ कोरोना महामारीका कारण पनि थोरै खर्च भएको कम्पनीको दाबी छ ।

सीईओ रायमाझीले भने कम्पनीको अहित हुने गरी आफूले काम नगरेको प्रष्टीकरण दिएका छन् ।

‘अहिले ममाथि अनुसान्धान भइरहेको छ । यस विषयमा केही पनि बोल्न मिल्दैन । तर, अवैध तरिकाले कम्पनीको एउटा पेनसम्म लिएको छैन’, उनले नेपाल प्रेससँग भने ।

यस्तो छ रायमाझीविरुद्धको उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *