रोहितको ब्याटिङ र सन्दीपको बलिङमा स्कटल्यान्डमाथि नेपालको सनसनी जित (भिडिओ) – Nepal Press

रोहितको ब्याटिङ र सन्दीपको बलिङमा स्कटल्यान्डमाथि नेपालको सनसनी जित (भिडिओ)

काठमाडौं । कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका छन् । हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे ।

लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्यम स्कोरमा समेटियो । यसअघि तीन खेलमा विशाल लक्ष्यहरु पछ्याएको नेपालका लागि २१३ रनको लक्ष्य सामान्य ठानिएको थियो । तर, बलिङमैत्री पिचमा नेपालका ब्याट्सम्यानहरुले रनका लागि संघर्ष गरे ।

कुनै पनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपाल एक समय २० ओभरको समाप्तिमा ७३/५ को स्थितिमा पुग्यो । त्यसपछि कप्तान रोहित पौडेलले एक्लै नेपालको इनिङ डोहोर्याए । अर्को इन्डमा एकपछि अर्को विकेट गुमिरहँदा रोहितको साहस र धैर्य गुमेन । अन्ततः नवौं नम्बरमा करण केसीले रोहितसँग ‘म्याचविनिङ पार्टनरसीप’ गरे । करणले आफ्नो स्वभाविक आक्रामकता पन्छाएर संयमित ब्याटिङ गर्दै रोहितलाई साथ दिनु नै आजको जितको मुख्य कारक बन्यो ।

रोहित र करणबीच ७५ रनको अविजित साझेदारी भएको थियो । रोहित ९५ रनमा अविजित रहे र शतकलाई ५ रनले चुके । १०१ बल बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए । करण ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

नेपालले आज पनि ब्याटिङमा खराब सुरुवात गरेको थियो । ओपनर कुशल भुर्तेल ४ बल खेल्दै १ रनमा आउट हुँदा आसिफ शेख २३ बलमा १२ रन बनाएर पेभिलियन फर्किए । अघिल्लो खेलमा अर्धसतक प्रहार गरेका ज्ञानेन्द्र मल्लले ३० बलमा २१ रन बनाए ।

यसअघिका खेलमा लगातार दुई अर्धसतक प्रहार गरेका कुशल मल्ल पनि आज टिक्न सकेनन् । उनी १७ रनमा आउट हुँदा सन्दीप जोराले १ रन मात्रै बनाए । त्यसपछि नेपालको आशा रोहित र दिपेन्द्रसिंह ऐरीमा टिकेको थियो । सातौं नम्बरमा आएका ऐरी पनि सस्तैमा आउट भएपछि नेपाल हारको संघारमा पुग्यो । तर, रोहितको मनमा अर्कै चलिरहेको थियो । उनले कतिबेला पनि हिम्मत हारेनन् ।

यसअघि, टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले स्कटल्यान्डले ४६.१ ओभरमा अलआउट हुँदै २१२ रनको योगफल तयार पारेको थियो । आक्रामक अन्दाजमा खेलिरहेका स्कटिस ब्याट्सम्यानहरुलाई नेपालका स्पिनर सन्दीप लामिछानेले ट्र्याकमा ल्याएका थिए । उनले महत्वपूर्ण चार विकेट लिएपछि स्कटल्यान्ड दवावमा पर्यो र ठूलो स्कोर बनाउन चुक्यो ।

स्कटल्यान्डका ओपनर कायल कोट्जर २३ बलमा ४ चौकासहित २२ रनमा आउट भए । अर्का ओपनर जर्ज मुन्सेले विष्फोटक ब्याटिङ गर्दै ५० बलमा ९ चौका र दुई छक्कासहित ६० रन बनाएको अवस्थामा सन्दीपको बलमा बोल्ड आउट भएका थिए । क्रिस्टोफर म्याकब्रिज ३० बलमा १ चौकासहित २२ रनमा कुशल मल्लको बलमा एलबी डब्लू आउट भए । कप्तान रिची बेरिङटनलाई पहिलो बलमै सन्दीप लामिछानेले एलबीडब्लू आउट गरेर पभेलियन फर्काए ।

लगातार विकेट गुमाइरहेको स्कटल्यान्डका लागि ६३ बलमा ४ चौका र एक छक्काको मद्दतमा ४२ रन बनाएका म्याथ्यू क्रसलाई दिपेन्द्रसिंह ऐरीले रनआट गरे । ब्रान्डन माकिन्टोस ३१ रनमा आउट भएपछि स्कटल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिमा सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खचिदै सर्वाधिक ४ विकेट लिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चिएर तीन विकेट लिँदा ललित नारायण राजवंशी र कुशल मल्ले समान १ विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर