केपी ओली कप फुटबलको ट्रफी र अफिसियल गीत सार्वजनिक (भिडिओ) – Nepal Press

केपी ओली कप फुटबलको ट्रफी र अफिसियल गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । फागुन ११ देखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा संघ नेपालले प्रतियोगिताको उपाधि ट्रफी सार्वजनिक गरेको हो । यस्तै आयोजकले प्रतियोगिताको चिनारी गीत पनि सार्वजनिक गरेको छ । प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टीमले प्रतिस्पर्धा गर्ने छन् ।

ट्रफी सार्वजनिक गर्दै युवा संघका अध्यक्ष किरण पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले सम्मान गर्न र समकालिन नेताहरूमध्ये ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनको नाममा फुटबल प्रतियोगिता गर्न लागिएको बताए ।

‘समकालीन नेताहरूमा खेलकुदलाई अलि बुझेको, खेलकुदप्रति बढी चासो राख्ने र माया गर्ने नेताको रूपमा आम खेल जगतका साथीहरूले पनि भन्नुहुन्छ यो कुरा । उहाँको लिगेसी, शुभेच्छुक पंक्तिको ध्यानलाई खेलकुद क्षेत्रमा डाइभर्ट गरिदियौँ भने खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदानको सम्भावना बढ्छ ।’

प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनलबाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।

‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् । एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा युवा फाँटका इन्चार्ज एवं एमाले नेता महेश वस्नेत पनि सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *