अग्नि सापकोटाका छोरा रुपक प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त – Nepal Press

अग्नि सापकोटाका छोरा रुपक प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्रीले नियुक्ति दिएसँग सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् ।

सापकोटा पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा हुन् । उनी अन्तराष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रूपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका छन् ।

साथै, टीयूको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रूपमा पनि जिम्मेवारीमा रहेका सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा उनीसँग गहिरो ज्ञान रहेको छ ।

सन् २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उनका भूराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन् । उनले थुप्रै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन् । साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरू पनि प्रकाशित भएका छन् ।

डा. सापकोटाले सन् २०१८मा चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका थिए ।

डा. सापकोटामा विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रूपमा पनि काम गरेको अनुभव रहेको छ । भने चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

प्रधानमन्त्रीले यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल, मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त गरिसकेका छन्।

यस्तै, स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी, प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर