एमालेको मिसन ग्रासरुट : लिपुलेक, लिम्पियाधुरा र कालापानीमा खटिए ऐन महर – Nepal Press

एमालेको मिसन ग्रासरुट : लिपुलेक, लिम्पियाधुरा र कालापानीमा खटिए ऐन महर

कैलाली । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरलाई एमालेले मिसन ग्रासरुट अभियान अन्तर्गत दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा खटाएको छ ।

०५५ सालमा कालापानीबाट भारतीय सेना फिर्ता पठाउन एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले मार्च पास गरेको थियो । उक्त सङ्गठनको केन्द्रीय अध्यक्ष भइसकेका महरलाई एमालेले भारतले कब्जा गरेर बसेको क्षेत्र लिपुलेक लिम्पियाधुरा र कालापानीमा खटाएको हो ।

१३ गते दार्चुलाको जिल्ला कमिटी बैठकमा सहभागी हुने र त्यस लगत्तै लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रमा पुगेर पार्टी राष्ट्रयता दुवैलाई बलियो बनाउने गरी काम गर्ने महरले बताएका छन् ।

‘कठीन र बिकट क्षेत्रमा मैले जिम्मेवारी पाएको छु । लिपुलेक लिम्पियाधुरा र कालापानीको जिम्मेवारी पाउनु मेरो लागि गौरवको कुरा हो’ उनले भने, ‘त्यहाँ पार्टी र राष्ट्रयता दुवैलाई बलियो बनाउने गरी लाग्ने छु ।’

मिसन ग्रासरुटको दुई महिने अभियान अन्तर्गत लिपुलेक लिम्पियाधुरा र कालापानी रहेको क्षेत्रसँगै उनी यहाँको विकट क्षेत्र अपिहिमालमा पनि खटिनेछन् । महरले मार्मामा पनि अभियानको नेतृत्व गर्ने छन् ।

विकट र संवेदनशील क्षेत्रमा युवा नेतृत्वले जिम्मेवारी निभाउन सक्ने भएको हुँदा उनलाई लिपुलेक लिम्पियाधुरा र कालापानीमा खटाइएको बुझिएको छ ।

२००९ मा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका पालामा भारतले राखेको चेकपोस्ट अहिलेसम्म हटाएको छैन । २०५५ सालमा कालापानीबाट भारतीय सेना फिर्ता पठाउन तत्कालीन एमाले संसदीय विभाग प्रमुखका हैसियतमा केपी ओलीले प्रस्ताव दर्ता गराएका थिए ।

ओली प्रधानमन्त्री हुँदा २०७७ जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा पनि सरकारले सार्वजनिक गरेको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानीमा एमाले अध्यक्ष ओलीको विशेष चासो छ । उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एमालेको प्रचार अभियानको सुरुवात पनि यसै क्षेत्रबाट अघिल्लो वर्ष कात्तिक १८ मा गरेका थिए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा खटिएका महर आफूले त्यहाँको अहिले वास्तविक अवस्था बुझेर पार्टी र सरकारलाई जानकारी गराउने समेत बताएका छन् । ‘त्यहाँ राष्ट्रियता अझै बुलन्द गर्ने र पार्टीले गरिरहेको कामहरू जानकारी गराउने मेरो उद्देश्य रहने छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर