सदाचारको दुहाइ दिने स्कटल्यान्डको क्रिकेट बोर्डमा संस्थागत रंगभेद, दुर्व्यवहारका ४४८ वटा घटना – Nepal Press

सदाचारको दुहाइ दिने स्कटल्यान्डको क्रिकेट बोर्डमा संस्थागत रंगभेद, दुर्व्यवहारका ४४८ वटा घटना

स्वतन्त्र अध्ययनले देखायो– स्कटल्यान्ड टिममा रंगभेद संस्थागत छ

काठमाडौं । स्कटल्यान्डको क्रिकेट टिम ‘सबै खाले दुर्व्यवहारको विरुद्धमा रहेकाले सन्दीप लामिछानेसँग हात नमिलाएको’ समाचार केही मिडियामा आइरहँदा स्कटिस टिमका खेलाडीहरू सयौँ दुर्व्यवहारका घटनामा संलग्न रहेको खुलासा भएको छ । ती दुर्व्यवहारहरू रंगभेदसँग सम्बन्धित छन् ।

यसै वर्ष सार्वजनिक भएको एउटा स्वतन्त्र अध्ययनले स्कटिस टिमभित्र ‘रंगभेद’ संस्थागत नै बनिसकेको खुलासा गरेको थियो । ‘स्पोर्ट्स स्कटल्यान्ड’ ले बनाएको स्वायत्त अध्ययन टोलीले राष्ट्रिय क्रिकेट टिमलाई रंगभेदी ठहर्‍याएको हो । बीबीसीले गत वर्षको जुलाई २३ मा नै यससम्बन्धी समाचार प्रकाशित गरेको थियो ।

स्कटल्यान्डका सर्वाधिक विकेट लिने बलर मजिद हकले एक अन्तरवार्तामा आफूमाथि विभेद र रंगभेदी व्यवहार हुने गरेको खुलासा गरेका थिए । उनको सोही अन्तरवार्तापछि जाँचबुझका लागि गठन गरिएको आयोगले सिंगै स्कटिस क्रिकेट रंगभेदमा डुबेको ठहर गर्दै प्रतिवेदन पेश गरेको हो । यसक्रममा कतिपय ६८ वटा आरोप तथा घटनाहरू स्कटल्यान्डको प्रहरीलाई फरवार्ड गरिएको छ ।

अनुसन्धानमा प्लान ४ स्पोट्र्सका समानता र विविधतासम्बन्धी विशेषज्ञहरू संलग्न थिए । गत जनवरी १२ मा सार्वजनिक गरिएको अन्तरिम प्रतिवेदनअनुसार २०० भन्दा बढी व्यक्तिहरूले दुर्व्यवहारबारे प्रमाण दिएका थिए । जाँचबुझका क्रममा समस्याको मापन गर्न ३१ वटा टेस्ट गरिएका थिए, जसमा क्रिकेट स्कटल्यान्ड २९ वटामा फेल भएको थियो र बाँकी दुईमा पनि आंशिक पास भएको प्रतिवेदनमा जनाइएको छ । ६ महिनासम्म गरिएको अध्ययनमा १००० जना व्यक्तिहरूलाई संलग्न गराइएको थियो ।

समाचारमा जनाइएअनुसार प्रतिवेदनमा उल्लेखितमध्ये ६८ वटा व्यक्तिगत आरोपहरू थप अनुसन्धानका लागि सिफारिस गरिएको थियो, जसमा १५ जना क्रिकेटर संलग्न छन् । ती आरोपहरूमा जातीय दुर्व्यवहार, अपशब्द, अश्वेत खेलाडीहरूलाई टिममा छनोट नगर्ने लगायत छन् । एउटै क्रिकेटरमाथि पनि धेरै आरोपहरू छन् ।

पहिलो पटक रंगभेदको विषय उजागर गर्ने हकले स्कटल्यान्डका लागि २०० भन्दा बढी म्याच खेलेका छन् । तर, उनलाई २०१५ को विश्वकपबाट घर फर्काइएपछि फेरि राष्ट्रिय टिमबाट खेल्न पाएनन् । त्यसपछि उनले आफूलाई रंगभेदी व्यवहार भएको गुनासो गरेका थिए ।

स्कटल्यान्ड बोर्डले नै काला जातिका क्रिकेटरहरुलाई राष्ट्रिय टिममा स्थान नदिने गरेको प्रतिवेदनमा उल्लेख छ । उनीहरुमाथि अपशब्द बोलिने तथा अपमानजनक व्यवहार हुने घटना पनि अत्यधिक छन् । प्रतिवेदन सार्वजनिक भएपछि स्कटल्यान्ड क्रिकेटमा ठुलै हलचल उत्पन्न भएको थियो ।

यसरी रंगभेद संस्थागत गर्ने स्कटल्यान्ड बोर्डले अहिले नेपालमा हुने प्रतियोगिताअघि आफूहरू सबै खाले दुर्व्यवहारको विरोधमा रहेको भन्दै विज्ञप्ति जारी गरेको थियो । अहिले केही मिडियाहरूले सोही बोर्डलाई उद्धृत गर्दै सन्दीपमाथि लागेको आरोपका कारण खेलाडीहरूले ह्यान्डसेक नगरेको दाबी गरेका छन् ।

जबकि स्कटल्यान्ड टिम म्यानेजरले एक वा दुई खेलाडीले ह्यान्डसेक नगर्न सक्ने जनाउ दिएपछि सन्दीपले आफू नै कसैसँग ह्यान्डसेक नगर्ने अडान लिएका थिए । मैदानमा स्कटिस खेलाडीले हात दिए पनि सन्दीपले ह्यान्डसेक गरेका थिएन । उक्त घटनालाई तोडमोड गर्दै प्रचारवाजी गरिएकोमा क्रिकेट समर्थकहरू रुष्ट छन् ।

प्रतिक्रिया

One thought on “सदाचारको दुहाइ दिने स्कटल्यान्डको क्रिकेट बोर्डमा संस्थागत रंगभेद, दुर्व्यवहारका ४४८ वटा घटना

  1. सही कुरा उठाउनुभयो । यी पश्चिमाहरू आफू अनैतिक, लुटेरा फटाहा छन् अनि
    अरूलाई चाहि पाठ सिकाउन खोज्छन् । यिनका हरेक कुराको प्रतिवाद गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर