राष्ट्रपतिमा माओवादीको समर्थन कसलाई ? पदाधिकारी बैठकमा छलफल जारी – Nepal Press

राष्ट्रपतिमा माओवादीको समर्थन कसलाई ? पदाधिकारी बैठकमा छलफल जारी

काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालमा पदाधिकारी बैठक बसिरहेको हो । राष्ट्रपतिबारे कुन पार्टीको उम्मेदवारलाई सघाउनेबारे बैठकले निर्णय लिने माओवादी नेताहरूले बताएका छन् । त्यसैले माओवादीको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएको छ । सरकार गठनताका गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकोमा प्रधानमन्त्री प्रचण्डले भाका फेर्न थालेको भन्दै एमाले सशंकित छ । यही विषयलाई लिएर गठबन्धनसमेत धरमराएको छ ।

बैठक सुरू हुनुअघि महासचिव देव गुरुङले पार्टी विशेषलाई राष्ट्रपति संविधानको भावनाविपरीत हुने जिकिर गरे ।

तर, १० पुसमा एमालेसँग सहमति गर्नुभएको थियो नि भन्न पत्रकारको प्रश्नमा उनले त्यसलाई नकारे । उनले एमालेले राष्ट्रपति आफ्नो हुनुपर्ने प्रस्तावमात्रै गरेको दाबी गरे ।

‘कुनै दलले प्रस्ताव राख्न पाउँदैन भन्ने हुन्छ ? प्रस्ताव राख्ने एउटा पाटो भो । दल विशेषलाई बनाउने अर्को कुरा हो ? संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ ? संविधानको भावनाअनुसार जानुपर्छ ’, गुरुङले भने ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘दाउ’ थापेको कांग्रेसले पनि राष्ट्रिय सहमतिमा जोड दिँदै राष्ट्रपतिमा तीब्र चासो देखाइरहेको छ । कांग्रेस नेतृत्वमा चुनावी गठबन्धन बनेकाले त्यही गठबन्धनको बलमा माओवादीले राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

हिजोमात्र राष्ट्रपतिमा सहयोग माग्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौलालगायतका कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

कांग्रेस नेताहरूसँगको छलफलमा सकारात्मक प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय लिने आश्वासन दिएका छन् ।

आजमात्र पदाधिकारी बैठक सुरू हुनुअघि प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ । भेटपछि पत्रकारसँग नेता नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमति नै आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर