नेपालमा जितविहीन नामिबिया, स्कटल्यान्ड ४३ रनले विजयी – Nepal Press

नेपालमा जितविहीन नामिबिया, स्कटल्यान्ड ४३ रनले विजयी

काठमाडौं । जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबिया जितविहीन भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारि शृङखलामा आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग ४३ रनले पराजित हुँदै नामिबिया चार खेलमा जितविहीन भएको हो । स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा अलआउट हुँदै १ सय ७८ रनमा सिमित भयो ।

नामिबियाका ओपनर लो-आन्द्रे लौरेन्सले सर्वाधिक ५२ रन योगदान गरे । उनले, ६७ बलमा ६ चौका प्रहार गरे । कप्तान जेरार्ड इरास्मसले ३८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४३ रन बनाएर आउट भए ।

सौउन फोउचे र रुबेन ट्रम्पलमेनले समान १० रन जोडेदा जेन ग्रिन २५ रनमा आउट भए । त्योबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डको बलिङमा मार्क वाटले ८.४ ओभरमा २ मेडन राख्दै ४१ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । माइकल लिस्कले १० ओभरमा १ मेडन राख्दै ४२ रन खर्चिएर तीन विकेट लिए । त्योबाहेक ब्रान्डन म्याकमुलेनले २ र क्रिस ग्रेभिसले १ विकेट लिए ।

यसअघि,टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ४८.४ ओभरमा अलआउट हुँदै २२१ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि ओपनर केयल कोइटजेर डकआउट हुँदा, लियम नेयलरले २० रन जोडे । क्रिस्टोफर म्याकब्रिज ७५ बल खेल्दै ७ चौका प्रहार गर्दै सर्वाधिक ४७ रन बनाएर पभेलियन फर्किएका थिए । कप्तान रिची बेरिङटन ३२ रनमा आउट हुँदा म्याथ्यू क्रसले १६ रन जोडे ।

थोमस म्याकिन्टोस ३४ रन, मिचेल लिस्क २९ रन, क्रिस ग्रेभिस १४ र मार्क वाटले १० रन जोडे ।

नामिबियाको बलिङमा ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । ताङगेनी लुङगामेनीले २ विकेट लिँदा बर्नाद स्कोस्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सले एक/एक विकेट लिए ।

शृंखलाको चारै खेलमा पराजित भएसँगै नामिबियालाई शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने समिकरण कठिन भएको छ । यस्तै, नामिबियाको हारले नेपाललाई बाँकी ९ खेल जिते शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने समिकरणलाई सहज भएको छ ।

नामिबिया लिग २ मा ३६ मध्यका ३३ खेल खेल्दै १८ जित र १४ हारको नतिजासहित ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

तीन खेल अगावै लिग २ च्याम्पियन बनेको स्कटल्यान्डले शृंखलाको अन्तिम खेलमा मंगलबार नेपालसँग् प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर