राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग लिएर सर्वोच्च जाँदै सन्दीप, पुनरावेदनकाे पेसी १२ गते (भिडिओ) – Nepal Press

राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग लिएर सर्वोच्च जाँदै सन्दीप, पुनरावेदनकाे पेसी १२ गते (भिडिओ)

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गर्न लागेका हुन् ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्ने भएका हुन् ।

सन्दीपका वकिल सराेज घिमिरेले भाेली पुनरावेदनकाे निवेदन लिएर जाने नेपाल प्रेससँग बताए ।

पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो । उसले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो । उक्त पुनरावेदनकाे पेसी  फागुन १२ गतेलाई तोकिएको छ । सन्दीपको पुनरावेदनलाई पनि सँगै राखेर १२ गते सुनुवाई हुने सम्भावना रहेको छ ।

नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको सुनवाइले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ ।

उनी नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य हुन् । हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । क्रिकेट समर्थकहरूले सन्दीपलाई विदेशमा खेल्ने वातावरण बनाउन अदालत र क्यानसँग माग गर्दै आएका छन् ।

(*सुरूमा प्रकाशित समाचारमा केही त्रुटी हुन गएकाले शीर्षकसहित सामान्य संसाेधन गरिएकाे छ । पाठककाे असुविधाका लागि क्षमाप्रार्थी छाै‌ ।) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *