पूँजी बजारबारे मौद्रिक नीतिको समीक्षा मौन : लगानीकर्ता रुष्ट, ओरालोतर्फ नेप्से – Nepal Press

पूँजी बजारबारे मौद्रिक नीतिको समीक्षा मौन : लगानीकर्ता रुष्ट, ओरालोतर्फ नेप्से

काठमाडौं । गत माघ २७ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा जारी गर्‍यो । समीक्षामा राष्ट्र बैंकले शेयर बजार अनुकूल स्पेश दिने अपेक्षा लगानीकर्ताले गरेका थिए । तर, समीक्षामा कतै पनि शेयर बजारका विषय उल्लेख भएन ।

संशोधन भएका आठ वटा बुँदामा पनि कतै शेयर बजार भन्ने शब्द परेन । फलतः मौद्रिक नीतिको समीक्षापछि भएको ४ दिनको सबै कारोबारमा नकारात्मक बन्यो ।

विशेषगरी मौद्रिक नीतिको समीक्षामार्फत १२ करोडको सीमा परिमार्जन र १५० प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशतमा झार्नसक्ने अपेक्षा आम लगानीकर्ताले गरेका थिए । समीक्षा समग्र शेयर बजारकै विषयमा मौन बन्यो । जसका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगे ।

समीक्षाको असर समीक्षापछिको पहिलो कारोबार दिन (माघ २९ गते आइतबार) सकारात्मक देखिएन । बजार ६०.८८ विन्दुले घट्यो । शुक्रबार (माघ २७) र शनिबाार (माघ २८) शेयर बजार बन्द रहने भएकाले समीक्षापछि माघमा एक दिनमात्र शेयर कारोबार भयो ।

फागुनमा ३ दिन गरेर समीक्षापछि जम्मा ४ दिन शेयर कारोबार भएको थियो । फागुन १ गते जनयुद्ध दिवसका दिन सरकारले सार्वजनिक बिदा दियो । फागुन ५ शुक्रबार, फागुन ६ शनिवार र फागुन ७ आइतबार प्रजातन्त्र दिवस रहेकाले बजार बन्द नै रह्यो ।

समीक्षापछिको शेयर बजार

मौद्रिक नीतिको समीक्षापछि भएको पहिलो कारोबारमा आइतबार (माघ २९) सूचक ६०.८८ विन्दुले घटेको थियो । यससँगै सूचक २१२१.७५ विन्दुमा अडिएको बजारमा ३ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार १६.४० अंकले घटेर २१०५.४७ विन्दुमा अडिएको थियो । यो दिन १ अर्ब ७८ करोडको शेयर कारोबार भयो ।

यसअघि पनि नेप्से २०८७ विन्दुमा क्लोजिङ भएपछि पुनः फर्किएको थियो । करिब २२ सयको लेभलमा पुगेपछि बजार पुनः करेक्सनतर्फ गएको हो । यसअघि नेप्से एकैदिन ७६ अंकले बढेको थियो । यसरी बढेको बजारबाट ट्रेडरहरुले प्रोफिट बुक गर्दा नेप्से सूचकमा दबाब पर्न थालेको हो ।

बुधबार नेप्से १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा अडिएको थियो भने १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । बिहीबार (फागुन ४) नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिएको छ । १ अर्ब ६८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार केही दिनयता लगातार करेक्सनमा जाँदा कारोबार रकम पनि सुस्त बनेको छ । ४ दिन भएको शेयर कारोबारमै सूचक नकारात्मक भएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था नगरेका कारण पनि लगानीकर्ता हतोत्साही भएको कारोबारले देखाउँछ । लगानीकर्ताले आँकलन गरेअनुसार मौद्रिक नीतिको समीक्षा नआएपछि शेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको देखिन्छ ।

पूँजी बजारप्रति सरकार संवेदनशील छ : अर्थमन्त्री

‘पूँजी बजार अर्थतन्त्रको ऐना हो, यो हामी सबैले मानेकै कुरा हो । तर, सँगसँगै पूँजी बजारमा समग्र अर्थतन्त्रको पनि प्रभाव परेको हुन्छ । हामी पूँजी बजारसँगै समग्र अर्थतन्त्रको विकास होस भन्ने चाहन्छौं’, अर्थमन्त्री विष्णु पौडेलले माघ २९ गते आइतबार संसदमा यस्तो भनेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसद हरि ढकालले शेयर बजारको विषयमा पूँजी बजार सुधार र विकासका लागि सरकारले के गर्दैछ ? भन्ने प्रश्न गरेपछि अर्थमन्त्रीले उक्त जवाफ दिएका थिए ।

पौडेल सामान्यतया लगानीकर्ताले रुचाएका अर्थमन्त्रीको रुपमा परिचित छन् । यद्यपि पौडेलले शेयर बजारका लागि नीतिगत निर्णय गरे पनि कार्यान्वयन नगरेको आरोप लगानीकर्ताको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि सेजनले आयोजना गरेको एक कार्यक्रममा शेयर बजारप्रति सरकार नकारात्मक नभएको प्रतिक्रिया दिएका थिए । उनले शेयर बजारको गन्तव्य माथितिर नै हुने उल्लेख गरेका थिए ।

राष्ट्र बैंकले पूँजी बजार बिगार्‍यो : विज्ञ

राष्ट्र बैंकप्रति लगानीकर्ता रुष्ट बनेका छन् । अहिलेको पूँजी बजार बिग्रनुमा राष्ट्र बैंकको नीति नै भएको लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

उनी भन्छन, ‘१५ महिनासम्म लगातार घटेको बजार बल्ल बढ्न थालेको थियो । तर, मौद्रिक नीतिको समीक्षाले लगानीकर्ताको माग सम्बोधन नगर्दा अर्बौं लगानी डुबेको छ । सरकार पूँजी बजारका लागि नीतिगत सुधार गर्नै चाहँदैन । अनि कसरी बढोस् बजार ?’

लगानीकर्ताहरुले अर्थमन्त्री पौडेलले पनि केही गर्न नचाहेको आरोप लगाएका छन् ।

शेयरविज्ञ मुक्ति अर्याल शेयर बजारमा १२ करोडको सीमा हट्ने आश लगानीकर्ताले गरेको तर समीक्षाले सम्बोधन नगर्दा समग्र बजार नै प्रभावित बनेको बताउँछन् ।

अर्कोतर्फ एमाले र माओवादीको गठबन्धन टिक्छ कि टिक्दैन भन्नेमै दोधार भएको र नटिकेको अवस्थामा अर्थमन्त्री पौडेल बाहिरिने आशंकाका कारण लगानीकर्ताले बजारमा सक्रिय सहभागिता नजनाएको उनको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *