सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर, रसिद खानलाई पछ्याउँदै – Nepal Press

सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर, रसिद खानलाई पछ्याउँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर सन्दीप लामिछाने यतिबेला उत्कृष्ट लयमा देखिएका छन् । विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा तीन खेल खेल्दै उनले ९ विकेट लिइसके । मैदानबाहिर उत्पन्न गरिएको कोलाहलको प्रभाव उनले आफ्नो खेलमा पर्न दिएका छैनन् ।

हिजोको खेलमा नामिबियाविरुद्ध तीन विकेट लिएसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको विकेट संख्या ७८ पुगेको छ । उनी विकेटको शतक पूरा गर्नबाट अब २२ विकेटले पछाडि छन् । अबका बढीमा १० खेलमा २२ विकेट लिएमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनेछन् । उनी सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने बलर बन्नेछन् ।

अहिले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट लिने बलरको कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा रहेको छ । उनले ४४ खेलमा विकेटको शतक पुरा गरेका थिए । रसिदको कीर्तिमान तोडेर विश्वकीर्तिमान राख्दै क्रिकेट दुनियामा नेपालको नाम चम्काउने अवसर सन्दीपसँग छ ।

सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा ५० विकेट पूरा गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले केवल २२ खेलमा ५० विकेट पूरा गरेका हुन् । श्रीलंकाका अजन्था मेन्डिसको नाममा १९ खेलमा ५० विकेट पूरा गरेको विश्व कीर्तिमान रहेको छ ।

सन्दीप जारी विश्वकप लिग-२ मा सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा छन् । यो सूचीमा माथि उक्लिने अवसर पनि उनीसित छ । सन्दीपले २३ खेलमा ५१ विकेट हात पारेका छन् । ३५ खेलमा ओमानका बिलाल खानले ७६ र अमेरिकाका सौरभ नरेस नेत्रभल्करले ५८ विकेट हात पारेका छन् । सन्दीपले उनीहरु दुवैभन्दा १२ खेल कम खेलेका छन् ।

लिग २ मा सन्दीपले अब ५ वटा म्याच मात्र खेल्न पाउनेछन् । लिग २ अन्तर्गत नेपालले गर्ने यूएइ भ्रमणमा उनी जान पाउने छैनन् । अदालतले उनलाई विदेश जान रोक लगाएका यूएइ भ्रमणमा उनी समावेश नहुने भएका हुन् । त्यसैले उनी यो लिगको सर्वाधिक सफल बन्न ५ म्याचमा २५ विकेट लिनुपर्ने हुन्छ । त्यो सम्भव नभए पनि उनी दोस्रो स्थानमा भने उक्लिन सक्छन् ।

सन्दीपले ३३ एकदिवसीय खेल्दा २ पटक कम्तिमा ५/५ विकेट र ६ पटक कम्तिमा ४/४ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको इकोनोमी ४.०८ रहेको छ । सन्दीपले जारी शृंखलाको अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछन् । त्यसपछि नेपाल, यूएई जाने छ, विश्वकप लिग-२ कै अर्को त्रिदेशीय शृंखला खेल्न ।

सन्दीपले अब आफ्नो किर्तिमान घरेलु मैदानमा भएका खेलबाटै पूरा गर्नुपर्ने हुन्छ । नेपालले करिब तीन सातापछि घरेलु मैदानमा विश्वकप लिग-२ कै अन्तिम त्रिदेशीय शृंखला खेल्ने छ जहाँ पपुआ न्युगिनी र यूएई रहनेछन् ।

सन्दीपले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ८५ विकेट लिएका छन् । उनले ४४ खेलमा यी सफलता हात पारेका हुन् । उनले बढीमा ७ खेलमा १५ विकेट लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने बलर बन्नेछन् ।

रसिद खानले ५३ खेलमा सय विकेट पूरा गरेका थिए । यसअघि सबैभन्दा कम खेलमा ५० विकेट पूरा गर्ने बलरको सूचीमा सन्दीप तेस्रो स्थानमा रहेका छन् । मेन्डिसले २६ खेलमा र आयरल्यान्डका मार्क अदेरले २८ खेलमा ५० विकेट पूरा गरेका थिए । सन्दीपले २९ खेल खेल्नु परेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर