पशुपतिका नागाबाबा ! – Nepal Press
ब्लग

पशुपतिका नागाबाबा !

महाशिवरात्रिमा केही विशेष कुराहरूको स्मरण हुने गर्दछ । गाँजा, भाङ धतुरो र नाङ्गा बाबा । यसै दिनका लागि भारतबाट हजारौँ बाबाहरू नेपाल आउने गर्दछन् । पशुपतिनाथको परिसरमा रहेर आफ्ना विभिन्न हर्कतहरु देखाएर मनग्गे आम्दानी गरेर फर्कन्छन् ।

भागवत वाचक पण्डित दीनबन्धु पोखेरेलका अनुसार लागूपदार्थ सेवन गर्न मन लागेर शिवजीको नाममा भाङ, धतुरो र गाँजा सेवन गर्न थालिएको हो ।

कुनै पनि पुराण वा शास्त्रमा शिवजीको सम्बन्ध गाँजासँग उल्लेख नगरिएको पोखरेलको आशय छ । तर मानिसहरूले आफ्नो अनुकूल बनाउन शिवजीको नाम लिएका पोखरेल बताउँछन् ।

हुन त शास्त्रीय वा वैदिक दृष्टिकोण के छ भन्ने दोस्रो पक्ष । सबै लेखिएका कुरा जीवनमा अनुसरण गर्न सक्ने नसक्ने भन्नेमा असहज हुनसक्छ । तर व्यवहारिक पाटोलाई ध्यानमा राखेर स्वतन्त्र आँखामा राखेर भने हेर्न सकिन्छ ।

मेरो जीवनमा मैले पहिलो पटक पशुपतिनाथभित्रै गएर शिवरात्रिको दिन दर्शन गरेको थिएँ गत साल । यसपालि मैले दोस्रो पटक पनि गएँ । अरूले वर्णन गरेका धेरै विषय सुनिन्थ्यो त्यसमध्येको ‘हट केक’ भनेको ‘नाङ्गा बाबा’ हुन् । वास्तवमा चाहिँ उनीहरूलाई नागा बाबा भनिन्छ ।

कसरी बन्छन् नागा बाबा ?

नागा बन्न जति देखिन्छ त्योभन्दा निकै कठिन हुने गर्दछ । हर कोहीले आफूलाई त्यस किसिमको रूपान्तरण गर्न सक्दैनन् । नागा साधुहरूको समूहमा आफूलाई सामेल गराउने कार्यका लागि कम्तीमा ६ वर्ष लाग्छ । यस क्रममा उनीहरूले शरीरमा लँगौटीबाहेक केही लगाउन पाउँदैनन् । त्यो पनि उनीहरूले कुम्भ मेलामा अन्तिम प्रण गरेपछि लँगौटी त्याग गर्छन् । त्यसपछि उनीहरू जीवन भरी नै कुनै पनि वस्त्र लगाउँदैनन् ।

राम्ररी अनुसन्धान गरेपछि मात्रै छानिएका कुशल व्यक्तिलाई मात्रै नागा बाबाको रूपमा स्वीकार गरिन्छ । नागा बन्नु पूर्व ऊ लामो समयसम्म ब्रह्मचारीको रूपमा रहेर उच्च चरित्रको असल मानव बन्ने र उसलाई नागा बाबाको समूलमा प्रवेश दिइन्छ । यसको प्रक्रिया कतिसम्म हुन्छ भने अन्तिममा महाकुम्भको समयमा उनीहरूले आफ्नै पिण्डदान र पूजा गर्नुपर्छ । यसरी निकै कष्ट, त्याग, साधना, तपस्याबाट आफूलाई नयाँरुपमा ढालेपछि मात्रै नागा बाबाको रूपमा बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।

अब महाशिवरात्रिका समयमा पशुपतिमा आउने बाबाहरुको त्यो तहको रुपान्तरण भएको हुन्छ हुँदैन भन्ने बहसको विषय बन्ला । खैर बाबाहरुको हर्कत देख्ने अवस्था भने मेरो लागि नौलो थियो ।

नागा बाबाहरू साँच्चै निर्वस्त्र हुन्छन् त ? म आश्चर्यले सोच्ने गर्थेँ त साथीहरूलाई सोध्ने पनि गर्थेँ । नाङ्गै हुने विषय पनि फेरि फरक फरक छ । यसबारै पनि निकै लामै विषय छन् ।

महाशिवरात्रिका हर्कतले मनमा उब्जेको जिज्ञासा

मैले पहिलो पटक निर्वस्त्र बाबाहरू देख्दा यदाकदा घिन महसुस भयो । यो सत्य हो कि हामी नाङ्गै आएको हौँ र नाङ्गै जान्छौ । यद्यपि निर्वस्त्र भएर व्यवहारिक पाटोलाई घिनलाग्दो बनाउनु उचित हुँदैन जस्तो म आफूलाई लाग्यो । तर अर्को सत्य के हो भने हामीभित्रको सबै पक्षलाई सहजै स्विकार्न सक्ने क्षमता हुनु भन्ने हो । अध्यात्म वा शिव भक्तहरूले संसारलाई स्वीकार्ने र प्रकृतिसँग मित्रता कायम गर्ने भन्ने विषय हो ।

त्यस्तै, अर्को कुरा जसले शिवजी नाङ्गै बस्थे भन्ने कुरा गर्छन् । शिवजीका अन्य गुण चाहिँ उति धेरै भनेको सुनिँदैन । आदि योगीका रूपमा रहेका शिवजीले जीवन र जगतलाई व्यवहारिक र आध्यात्मिक रूपमा सफल बनाउने ध्यान, साधना एवम् ज्ञानका कुरा गरेका छन् । तर अहिलेको नाङ्गा बाबारूपीहरूले शिवजीका अन्य गुण कतिको लागु गरेका छन् त आफ्नै जीवनमा भन्ने मूल विषय हो ।

गाँजा खाएर लट्ठ बन्नु, जथाभाबी बोल्नु, अत्यन्तै आशक्ति भएर केही माग्नु (पैसा विशेष गरी), अत्यन्तै क्रोधित हुने आदि सबै गुणहरू निकै धेरै देख्न पाइन्छ ती बाबाहरूमा । अनि के यी सबै गुणहरू उनीहरू पुजिन लायक गुणहरू हुन् ?

मेरै आँखा अगाडि एक दम्पती नाङ्गा बाबाका अगाडि आए । ती बाबाले आफ्नो लिंगमा घण्टी झुण्ड्याएका थिए । पत्नीले त्यो घण्टी सोखले बजाइन् । श्रीमानले पनि गर्नुपर्ने कर्तव्य गरे । ती बाबाले घण्टी बजाउन संकेत गरेजस्तो गरे । अनि पतिले पनि घण्टी बजाए । हेर्दा लाग्थ्यो दुवै जनाले केही संकल्पका लागि त्यो सब गरिरहेका छन् ।

उनीहरू गम्भीर रूपमा गरिरहेका थिए । निकै ठूलो विश्वास र आस्था देखिन्थ्यो । पत्नीले निकै आस्थाका साथ लिंगमा झुण्डिएको घण्टीमा ढोगिन् । यी सबै गरेर ती बाबालाई उनीहरूले केही रुपैयाँ दिए । म सबै दृश्य अचम्मित भएर ट्वाल्ल हेरिरहेका थिएँ । यो सबै मेरो पहिलो पटक थियो । यद्यपि, उनीहरूको आस्था र भक्तिप्रति मेरो कुनै आपत्ति वा गुनासो छैन ।

ती दृश्यहरूले मेरो मनमा पटक्कै खुशी दिएन । बलकी प्रश्नहरू उब्जाए । जस्तै, जो आफ्नो अलिकति पनि क्रोध नियन्त्रण गर्न सकेको छैन । जो आफैँ अत्यन्तै आशा अपेक्षा गर्छ ।

जो कुनै वस्तु बिना जस्तै कि गाँजा आदि आफूलाई शान्त राख्न सक्दैन । आफैँ पीडित जस्तो व्यवहार देखिन्छ । अब मनमा प्रश्न आयो यस्ता मानिसहरू प्रतिको भरोसाले आफ्नो भाग्य बन्दो हो र ?

शास्त्रले किटेरै भनेको तथ्य त आफैँमाथि भरोसा गर ईश्वर तिमी हौ भनेको होइन र ? त्यस्तै, यदि कोही साधनाबाट निपुण भएर जीवनलाई आमूल रूपान्तरण गरेका भए त केही न केही त व्यवहारमा देखिनुपर्ने होइन र ? यदि कसैको नाङ्गो रूप हेरेरै मान्छेको जीवनमा सुखयल अमनचैन हुने भए त यहाँ कोही पनि दुःखी हुने थिएनन् नि होइन र ? हरके दम्पतीले निर्वाण प्राप्त गरिसकेका हुन्थे होलान् । वा भनौँ उनीहरूको जीवनमा दुःखको घट्थे होलान् । त्यस्तो भएको त छैन ।

तसर्थ, आजको दुनियाँमा थोरै हामी व्यवहारिक र उन्नत किसिमले सोच्ने पो हो की ? संस्कृति, धर्म, परम्परालाई सम्मान छ । तर यसको नाममा गलत व्याख्या गर्दै नाङ्गो लिंगलाई ढोगेर कसैको जीवन उकासिने छैन । कदापि पनि । अँ बरु श्रीमान् श्रीमतीमा झगडा चाहिँ हुनसक्छ ।

शिवजीको ज्ञान, ध्यान, तपस्याको हिमायती बनौँ । सकेको थोरै धेरै योग गरौँ । ध्यान गरौँ । जीवनमा ज्ञान भरौँ । सदाबहार खुशी, सुखको आधार सदाकालका लागि यही नै हो ।

अन्यथा, अरू सबै कुराहरू पुनः दुःखकै कारण बन्न सक्छन् । आजको विशेष दिनमा हामी सबैले यो प्रसंगलाई मनन गर्न सकौँ । शिवजीको कृपा हामी सबैमा परिरहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *