आलोपालो चम्किँदै ब्याट्सम्यान, बलिङ भने सन्दीपमै निर्भर  – Nepal Press

आलोपालो चम्किँदै ब्याट्सम्यान, बलिङ भने सन्दीपमै निर्भर 

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग २ मा लगातार तेस्रो जित दर्ता गरेको छ । नामिबियालाई लगातार दोस्रोपटक हराउँदा नेपाली ब्याट्सम्यानहरूले फेरि एकपटक आफ्नो उत्कृष्टता देखाए ।
टस हारेर ब्याटिङमा निम्त्याइएको नामिबियाले नेपाललाई जितका लागि २७५ रनको लक्ष्य पेश गरेको थियो । चुनौतीपूर्ण लक्ष्य पाएको भए पनि नेपालका ब्याट्सम्यानहरूले सहज जित दिलाउन सफल भए । भलै पछिल्ला २–३ विकेट नेपालले अनावश्यक रुपमा गुमाउन पुगेको थियो ।
यस प्रतियोगिताका तीनवटै खेलमा नेपालले ब्याटिङतर्फ गज्जबको एकरूपता देखाएको छ । परम्परागत रुपमा ब्याटिङको कमजोरी भए पनि नेपालले ब्याट्सम्यानहरुकै उत्कृष्टतामा तीनवटै म्याचमा कठिन लक्ष्य हासिल गर्‍यो । नेपालका लागि सबैभन्दा सुखद पक्ष के छ भने कुनै पनि एक वा दुई ब्याट्सम्यानमा टिम निर्भर देखिँदैन । विगतमा पारस खड्का आउट भएपछि नेपालको ब्याटिङ धर्मराउँथ्यो । तर, अहिलेको टिम यस्तो छ कि सबै आआफ्नो जिम्मेवारी सम्हाल्न तत्पर छन् । तीन खेलमा फरक–फरक ब्याट्सम्यानहरू चम्किनुले यही संकेत गर्छ ।
नेपालको ओपनिङ जोडीका रूपमा रहेका कुशल भुर्तेल र आसिफ शेख दुवैले घरेलु मैदानमा आफ्नो उत्कृष्टता देखाउँदै आएका छन् । यस प्रतियोगिताको पहिलो खेलमा कुशलले उत्कृष्ट शतक प्रहार गरे । दोस्रोमा दुवै ब्याट्सम्यान चाँडै आउट हुँदा नेपाल दबाबमा परेको थियो । तेस्रोमा आसिफले लय समाते । उनले ज्ञानेन्द्र मल्लसँग कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्‍याएका थिए ।
अघिल्ला दुई म्याचमा चल्न नसकेका अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल पनि तेस्रो खेलमा चम्किए । उनको अर्धसतक नेपालका लागि महत्त्वपूर्ण समयमा आएको थियो । ज्ञानेन्द्रले आसिफसँग गरेको साझेदारीले नै नेपाललाई जितको बाटोमा लगेको हो ।
नेपालका लागि मध्यक्रमका कुशल मल्ल सरप्राइज प्याकेजका रूपमा आएका छन् । ओडीआइमा खासै राम्रो फर्ममा नरहेका कुशलमाथि भरोसा राख्दै प्रशिक्षक मोन्टी देशाइले उनलाई दिपेन्द्रभन्दा अगाडि ब्याटिङमा पठाएका थिए । पहिलो म्याचमा उनी असफल भए । तर, दोस्रो र तेस्रो म्याचमा लगातार आक्रामक अर्धशतक बनाउँदै नेपालको जितमा योगदान दिएका छन् ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी सबैभन्दा भरपर्दा ब्याट्सम्यान मानिन्छन् । रोहितले पहिलो म्याचमा महत्त्वपूर्ण अर्धशतक बनाए भने आज पनि उनले उपयोगी पारी खेले । दीपेन्द्रले दोस्रो म्याचमा म्याच विनिङ प्रदर्शन गरे । उनले अविजित ८५ रन हान्दै नेपाललाई जितसम्म पुर्‍याएका थिए ।
यसैगरी पछिल्लो क्रममा रहेका सन्दीप जोरा, सोमपाल कामी र करण केसीले पनि आवश्यक समयमा ब्याटबाट योगदान दिएका छन् । नेपाली टिमको ब्याटिङमा यसपटक निकै गहिराइ छ । सबै बलरहरुले थोरबहुत ब्याटिङ गर्न सक्छन् ।
तर, नेपालले घरेलु मैदानमा देखाएको ब्याटिङ ओभरसिजमा देखाउनुपर्ने चुनौती छ । ओभरसिज कन्डिसनमा नेपाली ब्याट्सम्यानहरूले बारम्बार घुँडा टेक्ने गरेका छन् । खासगर बलिङलाई सहयोग गर्ने पीचमा नेपाली ब्याट्सम्यानहरू निरीह बन्न पुग्छन् । टिमका प्रशिक्षक मोन्टी देसाइको मुख्य चुनौती यही नै हो ।
अब कुरा गरौँ बलिङको । ब्याटिङ जसरी सुधारिएको छ, नेपालको बलिङ स्तर भने खस्किएको छ । हरेक म्याचमा विपक्षी टिमले कमजोर अवस्थाबाट उठेर विशाल स्कोर खडा गर्न सफल भएका छन् । खासगर पछिल्ला ओभरहरूमा नेपालले रनको भेल बगाइरहेको छ । आगामी खेलमा यसलाई नियन्त्रण गर्नैपर्छ ।
आजको खेलमा पनि एक समय २०० रन पनि कटाउन हम्मे पर्नेजस्तो देखिएको टिमलाई पछिल्लो क्रमका ब्याट्सम्यानहरूले उकासेका थिए । १३८ रनमा पाँच विकेट गुमाएको अवस्थाबाट उठ्दै नामिबियाले ६ विकेट क्षतिमा २७४ रन बनाउन सफल भयो । अन्तिम ६ ओभरमा नामिबियाले अविश्वसनीय रूपमा ९६ रन जोड्न सफल भयो । अन्तिम ओभरमा करण केसीले २४ रन बगाए ।
४० ओभरमा पुग्दासम्म सन्दीप लामिछाने एक्लैले नामिबियाका ब्याट्सम्यानहरुलाई दबाबमा राखेका थिए । तर, जब सन्दीपको बलिङ कोटा पुरा भयो, नामिबियाका ब्याट्सम्यानहरू अन्य बलरहरूमाथि विस्फोट भए । खासगर नेपालका प्रमुख फास्ट बलर सोमपाल कामी र करण केसी फेरी एकपटक फ्लप भएका छन् । जारी प्रतियोगितामा यो जोडीको प्रदर्शन बिर्सनलायक छ । नेपालको बलिङ स्पिनरमै निर्भर भइरहेको छ, खासगर सन्दीपमा ।
करण केसी एक्लैले ७४ रन खर्चिए । उनी यो प्रतियोगिताका तीन वटै खेलमा अत्यधिक महँगा बनिरहेका छन् । पहिलो म्याचमा पाँच विकेट लिन सफल भए पनि उनले ६२ रन खर्चिन पुगेका थिए । यस्तै दोस्रोमा पनि स्कटल्याण्ड विरुद्धको म्याचमा पनि उनी नराम्ररी पिटिएका थिए । उनले सो म्याचमा ९ ओभर बलिङ गर्दै ६८ रन खर्चिए भने एक विकेट पनि लिन सकेनन् । कुल मिलाएर करणले तीन म्याचमा २०४ रन खर्चिसकेका छन् । राष्ट्रिय टिमका लागि यो आँकडा अत्यन्तै लज्जास्पद हो ।
अर्का फास्ट बलर सोमपाल कामीको अवस्था पनि धेरै फरक छैन । उनले आजको म्याचमा राम्रो सुरुवात गरेका थिए, तर पछाडिका ओभरहरूमा आफ्नो लय गुमाए । ९ ओभर बलिङ गर्दा ५३ रन बनाएका सोमपालले कुनै विकेट लिन सकेनन् ।
यसअघि स्कटल्यान्डविरुद्ध पनि सोमपालले ९ ओभरमा ५२ रन खर्चेर एक विकेट मात्रै लिन सफल भएका थिए । नामिबियाविरुद्धको पहिलो म्याचमा उनको प्रदर्शन झनै खराब थियो । उनले ९ ओभरमा ५६ रन खर्चेर एक विकेट मात्र लिन सफल भए । यसरी सोमपालले तीन खेलमा मात्र दुई विकटका लागि १६ रन खर्च गरेका छन् । यो पनि दयनीय आँकडा हो ।
नेपालले तेस्रो फास्ट बलरका रूपमा पछिल्ला दुई म्याचमा युवा बलर गुल्शन झालाई टिममा समावेश गरेको छ । तर, उनको बलिङ हर्दा यो स्तरका लागि तयार भइसकेको देखिएनन् । उनले पहिलो म्याचमा दुई ओभरमै २१ रन खाएपछि फेरि बलिङमा फर्किन पाएनन् । आज पनि उनले २ ओभर बलिङ गर्दा २० रन खर्चिए ।
यसरी फास्ट बलिङ असफल हुँदा नेपाल पूर्णरुपमा स्पिनरहरूमा भर पर्नुपरेको छ । नेपालसँग विशेषज्ञ स्पिनर सन्दीप मात्रै हुन् । पछिल्लो समय दीपेन्द्रसिंह ऐरीले अलराउन्डरको भूमिकामा न्याय गर्दै राम्रो स्पिन बलिङ गरिरहेका छन् । उनीहरुबाहेक नेपालले कुशल मल्ल र कुशल भुर्तेललाई पार्ट टाइम स्पिनरका रूपमा प्रयोग गरेका छन् । आजको म्याचमा त रोहित आफैँले ४ ओभर बलिङ गरे ।
नेपालको स्पिन बलिङ विश्व स्तरीय भए पनि फास्ट बलिङ भने टाउको दुखाइ भनेको छ । यही स्तरको फास्ट बलिङले नेपाललाई धेरैमाथि पुर्‍याउन कठिन देखिन्छ । पछिल्लो समय ब्याटिङमा जति सुधार गरेको छ, फास्ट बलिङको कमजोरीले त्यसलाई न्यूट्रिलाइज गरिदिएको छ ।
टिप्पणी: चिरञ्जीवी पाैडेल
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *