अरुण चौधरी भोलि रिहा हुँदै, वीरबहादुर चौधरीलाई पनि माफी दिने तयारी – Nepal Press

अरुण चौधरी भोलि रिहा हुँदै, वीरबहादुर चौधरीलाई पनि माफी दिने तयारी

कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण चौधरी भोलि रिहा हुँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् ।

सोही सूचीमा नागरिक उन्मुक्तिबाट निर्वाचित सांसद अरुण चौधरीको नाम पनि समावेश रहेको नागरिक उन्मुक्तिको उच्च स्रोतले जानकारी दिए । चौधरीले माफिका लागि राष्ट्रपतिलाई निवेदन पनि पेस गरेका थिए ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

चौधरीले सुनुवाइको मौका समेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुबै रिटमा अन्तरिम आदेश भएन ।

त्यसपछि प्रजातन्त्र दिवसको अवसरमा उनलाई छुटाउने तयारी गरिएको हो ।२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको र कैद भुक्तान नगरेको भन्दै पक्राउ परेका वीरबहादुर चौधरीलाई सजाय मिनाको तयारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि केहीलाई माफी दिने फायल पेस भएको बताए ।

प्रतिक्रिया

One thought on “अरुण चौधरी भोलि रिहा हुँदै, वीरबहादुर चौधरीलाई पनि माफी दिने तयारी

  1. १७००० मारेको हुँ भन्ने प्रधानमन्त्री बन्न हुने अनि ट्रयाक्टर जलाउने चाहिँ जेलमा हुनुपर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर