नेपालको जितका तीन हिरो- विष्फोटक कुशल, संयमित दिपेन्द्र र धारिला सन्दीप – Nepal Press

नेपालको जितका तीन हिरो- विष्फोटक कुशल, संयमित दिपेन्द्र र धारिला सन्दीप

काठमाडौं । बलियो स्कटल्यान्डमाथि ३ विकेटको सनसनी जित दर्ता गर्दा नेपालका दुई ब्याट्सम्यानहरु चम्किए । अर्धशतकीय इनिङ खेलेका कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी दुवैले लगभग समान रन बनाए तर एकदमै फरक अन्दाजमा ।

अघिल्लो ब्याटिङ पंक्तिले लगभग आत्मसमर्पण गरिसकेको अवस्थाबाट कुशल र दिपेन्द्रले नेपाललाई अविश्वसनीय रुपमा खेलमा फर्काएका थिए ।

कुशलले स्कटिस ब्याट्सम्यानहरुमाथि कठोर प्रत्याक्रमण गरे भने दिपेन्द्र पर्खालझैं खडा भएर नेपाललाई जितसम्म डोहोर्याए । आजको म्याचमा यी दुईमध्ये कसको इनिङ महत्वपूर्ण भनेर छुट्याउन निकै कठिन छ ।

४.४ ओभरमा नै ३ विकेट गुमेपछि कुशललाई पाँचांै क्रममा ब्याटिङमा पठाइएको थियो । अनुभवी दिपेन्द्रलाई होल्ड गरेर ‘पिन्च हिटर’ कुशललाई कठिन समयमा क्रिजमा पठाउने निर्णय गलत प्रतित हुन्थ्यो । तर उनले प्रशिक्षकको निर्णयलाई सही सावित गर्दै सम्भवतः जीवनकै एक उत्कृष्ट इनिङ खेलेका छन् । पहिलो बलदेखि नै उनले आफ्नै शैलीमा निर्धक्क ब्याट घुमाए । ठूला सटहरु खेल्न डराएनन् । उनको आक्रामक रवैयाकै कारण नेपालले खेलमा कुनै पनि बेला रनरेटको दबाब महसुस गर्नु परेन ।

अघिल्लो म्याचमा कुशल भुर्तेलसँग राम्रो पार्टनरसीप गरेका युवा ब्याट्सम्यान सन्दीप जोरा हलुका सट खेलेर आउट भएपछि नेपाल ७७ रनमै पाँच विकेटको अवस्थामा पुग्यो । स्कटल्यान्डजस्तो बलियो टिमविरुद्ध २७५ रनको विजयी लक्ष्य नेपालका लागि पहाडजस्तो देखिएको थियो । तर अन्तिम आशाका रुपमा थिए दिपेन्द्र सिंह ऐरी । कुशल मल्ल र दिपेन्द्र ऐरीको जोडीले नेपाललाई चाहिएको जस्तो पार्टनरसीप दियो । कुशल स्कटिस बलरहरुमाथि हावी भइरहँदा दिपेन्द्रले संयमित इनिङ खेले । बलको मेरिटअनुसार ब्याटिङ गरेका दिपेन्द्रले खेललाई अन्त्यसम्म पुर्याउन चाहन्थे ।

कुशल क्रिजमा हुँदासम्म दिपेन्द्रलाई रनको प्रेसर भएन । स्ट्राइक रोटेल गर्ने काम गरे । जब कुशल ८१ रनमा आउट भए त्यसपछि नेपालको इनिङ दिपेन्द्रको काँधमा सर्यो । उनले पछिल्ला क्रमका ब्याट्सम्यानहरुसँग उपयोगी पार्टनरसीप गर्दै नेपाललाई खेलमा राखिरहे । गुलशन झा र सोमपाल कामीले दिपेन्द्रलाई साथ दिए ।

बलिङतर्फ भने नेपालको कमजोरी आजको म्याचमा स्पष्ट रुपमा छचल्किएको छ । नेपालको स्पिन बलिङ जति उत्कृष्ट थियो, फास्ट बलिङ त्यति नै कमजोर । करण केसी र सोमपाल कामी फ्लप हुँदा पार्ट टाइम स्पिनर कुशल भुर्तेल र कुशल मल्लले १५ ओभर बलिङ गर्नुपरेको थियो । पेस बलरका रुपमा टिममा स्थान बनाएका गुल्शन झाले २ ओभर मात्रै बलिङ गर्न पाए जसमा उनले २१ रन खर्चिए ।

आजको जितका एक हिरो नेपालका स्पिनर सन्दीप लामिछाने पनि हुन् । उनले राष्ट्रिय टीममा आफ्नो महत्व फेरि एकपटक पुष्टि गरेका छन् । उनले कसिलो बलिङ मात्रै गरेनन्, महत्वपूर्ण ३ विकेट पनि लिए । उनले १० ओभरमा मात्रै २७ रन खर्चिएका थिए । अघिल्लो म्याचमा सन्दीपले ३ विकेट लिए पनि ६६ रन खर्चिएका थिए । तर, आज उनले रनमा पनि अंकुश लगाइदिएपछि स्कटिस ब्याट्सम्यानहरुले अन्य बलरहरुलाई निशाना बनाए ।

प्रतिक्रिया

One thought on “नेपालको जितका तीन हिरो- विष्फोटक कुशल, संयमित दिपेन्द्र र धारिला सन्दीप

  1. खेलाडीहरू चम्किलो भए पनि लम्पसारहरू सन्दिपलाई गाली गरिरहेका छन् जयहोस नेपालका खेलाडीलाई सलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर