शतक माया मारेर नेपाललाई सम्हालेका दीपेन्द्र – Nepal Press

शतक माया मारेर नेपाललाई सम्हालेका दीपेन्द्र

काठमाडौं । २७५ रनको लक्ष्य अनि ७७ रनमा ५ विकेट गुमेको, त्यसमाथि प्रतियोगिताकै सबैभन्दा बलियो स्कटल्यान्ड प्रतिद्वन्द्वी ।

विश्वकप लिग- २ अन्तर्गत शुक्रबार नेपालले यी सबै प्रतिकूलतालाई चिर्दै स्मरणीय जीत हात पार्‍यो र नायक बने दीपेन्द्रसिंह ऐरी । ऐरीको अविजित ८५ रनको मद्दतमा नेपालले प्राप्त लक्ष्य तीन ओभर बाँकी छँदा पूरा गर्‍यो ७ विकेट गुमाएर ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो लक्ष्य पूरा गर्ने राष्ट्रिय कीर्तिमान बनाएको नेपालका लागि दीपेन्द्रसहितका अलराउन्डरहरुले तालमेल मिलाएर खेले । कुशल मल्लले ८१ रन बनाए भने नवौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामी पनि २४ रनमा अविजित रहे । आठौं नम्बरमा आएका गुल्सन झाले पनि १७ रन जोडे ।

दीपेन्द्रले कुशल मल्लसँग छैटौं विकेटका लागि एक सय रनको साझेदारी गरेका थिए । त्यसपछि उनले सातौं विकेटका लागि गुल्सनसँग ४३ रनको साझेदारी गरे । सातौं विकेटका रुपमा गुल्सन आउट हुँदा नेपाललाई १२.२ ओभरमा ५५ रन आवश्यक थियो । दीपेन्द्र ६६ रनमा खेल्दै थिए ।

अन्तिम ६ ओभरमा नेपाललाई २४ रन चाहिएको वेला दीपेन्द्र शतक बनाउनबाट १८ रन मात्रले टाढा थिए । तर, उनी स्ट्राइकमा बसिरहन चाहेनन् । सोमपालसँग तालमेल गरेर खेले । स्ट्राइकर रोटेट गरेर खेलिरहँदा नेपालको जीत सहज बन्दै गएको थियो । नेपालले ४७ औं ओभरमा १६ रन जोडेको थियो ।

४६औं ओभरको अन्तिम बलमा दीपेन्द्रले एक रन लिएर स्ट्राइक लिने सम्भावना देखिए पनि उनले जोखिम मोल्न चाहेनन् । दीपेन्द्र आउट भएको अवस्थामा खेलको नतिजा जता पनि जान सक्थ्यो । ४७औं ओभरमा सोमपालले दीपेन्द्रलाई स्ट्राइक दिनै परेन । दीपेन्द्रले ११६ बलमा एक छक्का र ८ चौका प्रहार गरे ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली ब्याट्सम्यानले एकभन्दा बढी शतक बनाएका छैनन् । दीपेन्द्रले यसअघि नै पहिलो शतक बनाइसकेका छन् । महत्वपूर्ण जीतपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताले निरन्तरता पाउने सम्भावना कायमै रहेको छ । स्कटल्यान्डले अघिल्लो खेलमा नामिबियालाई हराएर विश्वकप लिग- २ को उपाधि जित्ने पक्का गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर