जनार्दनलगायतलाई मा‌ओवादी नेता-कार्यकर्ताकाे प्रश्न : हामीले कहिलेदेखि आफ्नै चिन्हमा भाेट हाल्न पाउने ? – Nepal Press

जनार्दनलगायतलाई मा‌ओवादी नेता-कार्यकर्ताकाे प्रश्न : हामीले कहिलेदेखि आफ्नै चिन्हमा भाेट हाल्न पाउने ?

प्रदेश १ कमिटी बैठकमा नीति, सिद्धान्त छाडेर पार्टी गन्तव्यविहीन भएकाे भन्दै आलाेचना

विराटनगर । माओवादी प्रदेश १ कमिटीको पूर्ण बैठकमा सहभागी प्रदेश सदस्यहरुले पार्टी आफ्नो नीति र सिद्धान्तमा नहिँडेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बिहीबारबाट विराटनगरमा शुरु भएको प्रदेश कमिटीको बैठकमा बोल्ने अधिकांश प्रदेश सदस्यहरुले पार्टीले आफ्नो सिद्धान्त र नीति छाड्दै हिँडेको र अब कहाँ पुग्ने भन्ने बाटोबाट समेत विमूख भएको बताए ।

बिहीबार प्रदेश कमिटीका ३५ जना सदस्यहरुले बोल्दै पार्टीका अबको गन्तव्य कहाँ हो ? भन्दै नेताहरु समक्ष प्रश्न गरे । बैठकमा सहभागी हुन माओवादीका उप महासचिव तथा स्थायी कमिटी सदस्य जर्नादन शर्मा र स्थायी कमिटी सदस्य राम कार्की समेत आएका छन् ।

कार्की माओवादी प्रदेश कमिटीका इन्चार्ज समेत हुन् । बैठकमा सहभागी एक नेताका अनुसार जर्नादन शर्मालाई हामी कुन पार्टीका नेता तथा कार्यकर्ता हौं भन्दै प्रदेश कमिटी सदस्यहरुले प्रश्न गरेका थिए । ‘कहिले कांग्रेसलाई भोट हाल्न लाउनु हुन्छ कहिले एमालेलाई ? हामीले हाम्रो चुनाव चिन्हमा भोट हाल्न पाएनौं ।’ एक प्रदेश कमिटी सदस्यले भने ।

बैठकमा सहभागी प्रदेश कमिटि सदस्यहरुले पार्टी कहिले कांग्रेससँग मिल्न लाएको त कहिले एमालेसँग पार्टी मिलेको भन्दै वैठकमा सहभागी प्रदेश कमिटी सदस्यहरुले पार्टीको आलोचना गरेका छन् । बैठकमा सहभागीहरुले संगठनले गरेका काम भन्दा पनि पार्टीको आलोचना गर्न समय खर्चिएका छन् ।

बैठकमा रिपोटिङ गर्ने प्रदेश कमिटी सदस्यलाई उदृत गर्दै प्रदेश उपाध्यक्ष शिव डाँगीले बैठकमा सहभागी प्रदेश कमिटी सदस्यहरुले पार्टीको कार्यशैली प्रति आलोचना गरेको बताए । उनले पार्टीको पहिचानका बिषयमा बैठकमा सहभागीहरु गम्भिर भएको बताए ।

बैठकमा सहभागी उप महासचिव जनार्दन शर्माले भने बिहीबार दिनभरि सहभागीहरुले राखेको जिज्ञासा टिपोट गरिरहेका थिए । बैठकमा बोल्नका लागि ६१ जनाले नाम टिपाएका छन् । बैठक आज दिनभरि पनि चाल्ने छ । बैठकमा १ नम्बर प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर