अर्थमन्त्रीको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङमार्ग – Nepal Press

अर्थमन्त्रीको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङमार्ग

यो क्षेत्रकै नौलो आयोजना, समयमा पूरा गर्ने चिनियाँ कम्पनीलाई चुनौती

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘ड्रिम प्रोजेक्ट’मा राखेको सिद्धबाबा सुरुङमार्ग निर्माणको प्रारम्भिक काम सुरु भएको छ । पौडेलले सिद्धार्थ राजमार्गबाट रुपन्देही पाल्पा जोड्ने मुख्य मार्गको रुपमा रहेको सिद्धबाबामा सुरुङमार्ग निर्माण गरेरै छाड्ने घोषणा गरेपनि यतिधेरै लगानी लाग्ने योजना धेरैलाई संभव लागेको थिएन ।

तर स्रोत व्यवस्थापन, ठेक्का प्रकृया सबै काम पूरा भएर निर्माणको चरण सुरु भएपछि अब समयमा पूरा हुन्छ वा हुँदैन भन्ने चासो बढेको हो । वर्षामा हिलोसहित र हिउँद ढुंगासहितको धुले पहिरो यो सडकको चुनौती हो ।

ट्राफिक प्रहरी तथ्यांकअनुसार पछिल्लो एक दशकमा ५० जनाले ज्यान गुमाएकाले पनि मृत्युमार्गका रुपमा जनजिब्रोमा बसेकाले यसको वैकल्पिक योजनाको खोजी भइरहेको थियो । ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ ।

आयोजनाको डिजाइन तयार भएसँगै अब निर्माण सुरु हुन लागेको हो । अबको एक–दुई हप्तामै आयोजनाको डिजाइन स्वीकृत हुने र निर्माण कार्य सुरु हुने बताइएको छ । साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउनेलगायतका पूर्वतयारीको काम अघि बढिसकेको छ ।

अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउनेलगायतका काम बाँकी छन् । त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख होमबहादुर एसीले बताए ।

निर्माण कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेकोमा त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ। अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने छ । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ ।

सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सुरुङमार्गको ड्रोइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्म बुझाउने समयसीमा तोकिएको थियो ।निर्माण कम्पनीले तोकिएको समयमै डिजाइन र ड्रोइङ बुझाएकाले निर्माण कार्य पनि तोकिएकै समयमा हुने सडक विभागको भनाइ छ ।

स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पोरेसन (एसडिसी)ले सुरुङमार्गको प्राविधिक परामर्शको काम गरिरहेकाले गर्दा सहयोग दिइरहेको छ  । सोहीअनुसार चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ  ।

उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ  । चिनियाँ कम्पनीले सोही सुझाव अनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ । त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ  ।

सुरुङमार्ग निर्माणका लागि स्विस डेभलोमेन्ट कर्पोरेशन (एसडिसि)ले प्राविधिक परामर्शदाताको रुपमा काम गरिरहेको र निर्माण कम्पनीले बुझाएको सुरुङमार्ग निर्माणको डिजाइन अध्ययन गरिरहेको छ । निर्माण कम्पनीले बुझाएको डिजाइन र ड्रोइङलाई प्राविधिक परार्मदाता एसडिसिले अध्ययन गरिरहेको सडक विभागका उपमहानिर्देशक भिर्माजुन अधिकारीले बताए ।

डिजाइन स्वीकृतिको काम आगामी एक–दुई हप्तामै पूरा हुने र फागुनबाट आयोजनाले निर्माण कार्य सुरु गर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । सुरुङमार्गको एसडिसिको टिमले प्रारम्भिक अध्ययन गरेको भएकाले आयोजनको परामर्शदाताको रुपमा काम गर्दै आएको छ । एसडिसिको टिमले नोभेम्बरबाट स्थलगत भ्रमण गरेको थियो ।

सुरुङमार्गको न्यूनतम लम्बाइ एक हजार एक सय २६ मिटरको हुनेछ, जुन सुरुङमार्ग दुई लेनको हुनेछ । यसमा नागढुंगा टनेलमा जस्तो छुट्टै आकस्मिक सुरुङमार्ग भने हुनेछैन । आकस्मिक अवस्थाका लागि भनेर छुट्टै तीनवटा सहायक सुरुङमार्ग बनाएर बाहिरी सडकमा जोडिनेछ । त्यहाँको भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै रकसेड नामको संरचना बनाइनेछ, संरचनाको आकार छाताजस्तो हुनेछ । त्यसले माथिबाट आउने पहिरोलाई सडकमा नभएर सीधै तल्लो भागमा पुर्‍याउनेछ ।

आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी इपिसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने एक हजार एक सय २६ मिटर लम्बाइको सुरुङ बनाउन जेठ ०७८ मा ग्लोबल टेन्डर आह्वान भएको थियो भने फागुनको अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण समापन गर्ने गरी सम्झौता भएको थियो ।

सम्झौताअनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको गरेर बुझाउने समयसीमा दिइएको थियो । चाइना स्टेटले कन्स्ट्रक्सनले बुझाएको डिजाइन एसडिसी र आयोजनाले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुने विभागको भनाइ छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्मको मर्मत तथा सञ्चालन गर्नुपर्ने छ ।

यसरी १० वर्ष प्रत्यक्ष निगरानीमा रहने छ । मूल सरुङमार्ग १ं हजार १ सय २६ मिटर लम्बाई रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणका लागि छनोट भएको थियो । सिद्धार्थ राजमार्गमा निर्माण हुने सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भए पनि चाइना स्टेट कन्स्ट्रक्सनले कम कबालमा निर्माणको जिम्मा पाएको थियो ।

आयोजनाले निर्माणको लागि आन्तरिक तयारी स्वरुप साइड क्लियरेन्स, डाइर्भसन लगायत यन्त्र उपकरण संकलनको काम गरिरहेको जनाएको छ । अहिले खासगरी बेस निर्माणका लागि काम भइरहेको छ । डिजाइन स्वीकृति पछि लगतै आयोजनाले सुरुङ खन्ने काम सुरु गर्ने जनाएको छ । पटक पटक पहिरोमा पुरिएर यहाँ धेरैले ज्यान गुमाइसकेका छन् ।

धेरै चुनावी नारा बनेको यो बाटो बनाउन धेरैपटक नेताहरुले प्रतिवद्धता गरेका थिए । पछिल्लो सुरुङ मार्ग निर्माणका लागि हालमा अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले प्राथमिकताका साथ पटक पटक बजेट बिनियोजन गरेर आफ्नो ड्रिम प्रोजेक्टका रुपमा अगाडि बढाएका थिए ।

उनलाई एमाले नेता तथा पूर्वमन्त्रीहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, नेकपा एसका लुम्बिनी अध्यक्ष पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारी लगायतले साथ दिँदै आएका छन् । पाल्पा र रुपन्देहीका धेरै नेताहरुले यो सडक बनाउने घोषणापत्रका धेरैपटक लेखेका छन् ।

‘यो योजनालाई समयमै पूरा गराउन सबैले दवाव दिनुपर्छ, रुपन्देही र पाल्पा मात्रै होइन यो देशकै नमुना योजना भएकाले सबैको ध्यान खिच्ने छ, आन्तरिक पर्यटनसमेत यसले प्रवद्र्धन गर्नेछ ।’ सामुदायिक वन उपभोक्ता समिति दोभानका उपाध्यक्ष दलबहादुर गुरुङ भन्छन् । पाल्पाका दोभानका स्थानीय बासिन्दाहरूलाई रहेको छ । किनकि त्यहाँ बासिन्दा धेरै काम बुटवल पर्ने र बुटवल आउनेको लागि सिद्धबाबा बर्खा र हिउँद दुवै समयमा पहिरो र ढुंगा खस्ने त्रासलाई यसले कम गर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *