सहकारीले रकम फिर्ता नदिएपछि बचतकर्ताहरु उत्रिए आन्दोलनमा – Nepal Press

सहकारीले रकम फिर्ता नदिएपछि बचतकर्ताहरु उत्रिए आन्दोलनमा

कैलाली । धनगढीमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले आन्दोलन थालेका छन् ।

आफूले वर्षौंदेखि जम्मा गरेको रकम फिर्ताको माग गर्दै बिहीबार शिवशिखर बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिले आन्दोलन अघि बढाएको हो ।

‘हाम्रो बचतको ग्यारेन्टी गर, बचतकर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै आन्दोलन सुरु गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले बताए ।

बचतकर्ताको १५ अर्ब ८० करोड रुपैयाँ खाएर शिवशिखरका सञ्चालक फरार रहेको उनले आरोप लगाए ।

‘हामीले प्रशासनिक रुपमा सबै ठाउँमा जानकारी गराइसकेका छौं’, उनले भने, ‘प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइसकेका छौं, जबसम्म बचतकर्ताले आफ्नो पैसा पाउँदैनन्, तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवाग्राहीहरूले बचत गरेको रकम फिर्ता गर्न नगरेको भन्दै केही दिनअघि सहकारीको कार्यालयसमेत घेराउ गरेका थिए । दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागेको बताएका छन् ।

केही दिनयता सहकारीको धनगढीस्थित कार्यालय दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लागेपछि सहकारी कर्मचारी नै सम्पर्कविहीन भएपछि थप आशङ्का बचतकर्तामा छाएको छ । सहकारीले दैनिक चल्ती खातामार्फत रकम सङ्कलन गर्दै आएको थियो ।

देशभर सेवा विस्तार गर्दै आएको शिवशिखरले शेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिनअघि धनगढी सेवा कार्यालय नै बन्द गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *