सिनेमा खेल्दै गायिका दीक्षीता, स्वप्नसँग जोडी बाँधिने – Nepal Press

सिनेमा खेल्दै गायिका दीक्षीता, स्वप्नसँग जोडी बाँधिने

काठमाडौं । निर्देशक दिनेश राउतको अनटाइटल प्रोजेक्टमा गायिका दीक्षीता कार्की अनुबन्धित भएकी छन् ।

‘युट्युब सेन्सेसन’ कार्की युवापुस्ता माँझ लोकप्रिय छिन् । उनी संगीतकार तथा चर्चित भ्लगर चेतन कार्कीकी छोरी हुन् ।

लभस्टोरी जनराको यस सिनेमामा गायक स्वप्न सुमन यसअघि नै फाइनल भइसकेका थिए । सिनेमामा अब स्वप्न र दीक्षीताको जोडी बाँधिनेछ । अंग्रेजी गीत गाएर चर्चामा आएकी दीक्षीताका ‘तिमि र म’, ‘जीवन’ जस्ता गीत लोकप्रिय छन् । सानै उमेरदेखि दर्शक माझ चिनिएकी दीक्षीता भर्खर १८ वर्ष पूरा भएकी छन् ।

स्वप्न र दीक्षीता सिनेमाको पात्रमा सुहाउने भएकाले यो जोडी बाँधिएको निर्देशक राउतले जानकारी दिएका छन् । शहर केन्द्रित विषयवस्तुमा निर्माण हुने सिनेमाले शहरी सभ्यताभित्रको ढोंग र प्रेमको कथा भन्नेछ ।

विकास सुवेदीले यतिबेला सिनेमाको पटकथा लेखिरहेका छन् । सम्पूर्ण छायांकन काठमाडौंको गरिने सिनेमा वैशाखदेखि फ्लोरमा जाने तयारीमा छ ।

मल्टीमेटको ब्यानरमा निर्माण हुने सिनेमालाई आगामी बडा दशैँमा प्रदर्शन लक्ष्य राखिएको छ । जीवन थापा कार्यकारी निर्माता रहने सिनेमामा कमल बहादुर आले, राजन कुँवर र ज्ञान थापाको निर्माण रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *