‘माननीयज्यू सहारा मागिरहनुभएको थियो, १० मिनेटमै अस्पताल पुर्‍यायौं’ (भिडियो) – Nepal Press

‘माननीयज्यू सहारा मागिरहनुभएको थियो, १० मिनेटमै अस्पताल पुर्‍यायौं’ (भिडियो)

काठमाडौं । गएराति बेलुकाको खानपिन सकेर सुत्ने तरखरमा थिए बुद्धनगरवासी भरत घिमिरे । बेलुकाको १० देखि सवा १० बजेको हुँदो हो ।

एक्कासि ट्रान्सफर्मर पड्किएको जस्तो आवाज उनको कानमा पर्‍यो । ठूलो आवाजले विथोलिएका घिमिरे सशंकित हुँदै आफ्नै घरमा केही भयो कि भनेर आफ्नै घर निरीक्षण गर्न थाले । खास कहाँ के भएको हो भन्ने निर्क्योल गर्न नपाउँदै उनले छिमेकी हरिहर भण्डारीको आवाज सुने । हरिहर चर्को स्वरमा गुहार मागिरहेका थिए ।

कांग्रेस नेता चन्द्र भण्डारीका साइँला भाइ हुन् हरिहर । चन्द्र साइँला भाइ-बुहारीको निवासमा आफ्नी आमासँग बस्दै आएका छन् । बुद्धनगरस्थित भण्डारी निवासको भूईंतलामा चन्द्र र उनकी आमा हरिकला भण्डारी बस्छन् भने माथिल्लो तलामा भाइ-बुहारी बस्दै आएका छन् ।

हरिहरको आवाज सुनेपछि तीन घरका छिमेकीहरु आत्तिँदै भण्डारी निवास पुगे ।

‘हामी घटनास्थलमा पुग्दा माननीयज्यू यहाँ बसिरहनु भएको थियो, आङमा कुनै कपडा थिएन । अनुहार, हात र गोडामा गम्भीर चोट थियो । आमा उता अचेत अवस्थामा हुनुहुन्थ्यो’, घटनास्थल देखाउँदै घिमिरेले भने ।

चन्द्र र उनकी आमालाई यस्तो हालतमा देख्नेबित्तिकै छिमेकीहरु उद्धारमा जुटे । गम्भीर घाइते भए पनि चन्द्र होसमै थिए ।

‘हामी यहाँ पुगेपश्चात माननीयज्यूले पनि हामीलाई सहयोगको अपिल गर्नुभयो । दाइ मलाई अस्पताल लग्नुपर्‍यो, तपाईंहरुले सहयोग गर्नुपर्‍यो भन्दै हुनुहुन्थ्यो’, घिमिरेले भने ।

अर्धचेत अवस्थामा रहेकी चन्द्रकी आमाको शरीर यत्रतत्र जलेको थियो । साइली बुहारीले उनलाई सिरकले ढाकिदिइन् । घटनास्थलमा पुगेका छिमेकी तथा भाइ–बुहारीले चन्द्रलाई गाडीमा राखे ।

‘हामी यहाँ आउनेबित्तिकै माननीयज्यूलाई उहाँकै भाइको गाडीमा राखेर कीर्तिपुर बर्न अस्पताल पु¥यायौं’, घिमिरेले थपे, ‘लगभग १० मिनेटमै माननीयज्युलाई कीर्तिपुर अस्पताल पुर्‍याइसकेका थियौं ।’

त्यसवेलासम्म घटनास्थलमा प्रहरीसमेत पुगिसकेको थियो । प्रहरीको भ्यानमा राखेर आमालाई पनि बानेश्वरको मीनभवनस्थित सिभिल अस्पताल पु¥याइयो । घिमिरेका अनुसार आमाको अवस्था थप जटिल देखिएकाले प्राथमिक उपचार यथाशीघ्र होस् भनेर उनलाई सिभिल अस्पताल लगिएको हो ।

सुरुमा ठूलो आवाज सुनिएको भए तापनि छिमेकीहरु घटनास्थलमा पुग्दा आगजनी भएको भने नदेखिएको घिमिरे बताउँछन् । आज नेपाल प्रेसको टीम घटनास्थलमा पुग्दा घरको माथिपट्टि रहेको प्रिफ्याबको छानो फुटेको तथा भत्किएको, केही कपडा जलेको अवस्थामा देखियो । बैठक कक्ष, हरिकला र चन्द्रको बेडरुम, किचनको अवस्था भने सामान्य थियो ।

सिभिल अस्पतालमा प्राथमिक उपचारपश्चात चिकित्सकको सुझावबमोजिम कीर्तिपुर अस्पताल पुर्‍याइएकी हरिकलाको उपचारको क्रममा आज बिहान १०ः५७ बजे निधन भयो । चिकित्सकहरुका अनुसार उनको शरीर करिब ७० प्रतिशत भाग जलेको थियो ।

यता कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रको स्वास्थ्य अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । उनलाई थप उपचारका लागि भारत लगिँदैछ । उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचार हुने बताइएको छ ।

बुधबार राति ग्यास गन्हाएपछि किचनमा पुगेर हरिकलाले चन्द्रलाई बोलाएको र चन्द्रले बत्ती बालेलगत्तै आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । काठमाडौं प्रहरी परिसर प्रवक्ता सीताराम रिजालका अनुसार आमा हरिकलाले सवा १० बजे ग्यास गन्हायो भन्दै छोरा चन्द्रलाई बोलाएकी थिइन् ।

‘छोराले बत्ती बाल्न किचेनको स्विच अन गरेलगत्तै आगो सल्किएर फैलिएको भन्ने कुरा आएको छ । हामीले विद्युतका प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आगो झिलिक्क गर्ने हुनाले त्यसैले फैलिएको ग्यास समात्न सक्ने बताएका छन् । अन्य विषयमा थप अनुसन्धान भइरहेको छ’, एसपी रिजालले भने ।

भिडिओ : नविनमुनि स्थापित ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *